
विर्तामोडमा दुई दिने ‘रोजगार मेला’ सुरु



झापा। झापाको विर्तामोड नगरपालिकाको आयोजनामा ‘विर्तामोड रोजगार मेला’ आजदेखि सुरु भएको छ। स्थानीय तहमा उपलब्ध रोजगारीका अवसरबारे जानकारी गराउने, रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने तथा सीपयुक्त जनशक्तिलाई उपयुक्त क्षेत्रमा आबद्ध गराउने उद्देश्यसहित मेलाको आयोजना गरिएको हो।
विर्तामोडस्थित अतिथि सदनमा सुरु भएको दुई दिने मेलाको आज विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं र विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे। समारोहमा रोजगार सिर्जना र स्वरोजगार प्रवर्द्धनका लागि स्थानीय तह, निजी क्षेत्र र सरोकार भएका विभिन्न संस्थाबीच सहकार्य आवश्यक रहेकामा जोड दिइएको थियो।
कार्यक्रममा विर्तामोड नगरपालिकाका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नं २ का वडाध्यक्ष किशोर पौडेल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा रोजगारी खोजिरहेका युवायुवतीको सहभागिता थियो। मेलामा विभिन्न क्षेत्रका रोजगारदाताले आफ्ना कक्ष (स्टल)मार्फत उपलब्ध रोजगारी, आवश्यक योग्यता, सीप विकासका अवसर तथा संस्थागत गतिविधिबारे जानकारी प्रदान गरिरहेका छन्।
रोजगारदाताका स्टलमा सहभागीहरूले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव र रुचीअनुसार रोजगारीका सम्भावनाबारे जानकारी लिने तथा आवश्यक परे आवेदनसमेत दिनसक्ने व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता पाण्डेले जानकारी दिए। मेलाले स्थानीयस्तरमा उपलब्ध अवसरबारे जानकारी अभावका कारण बेरोजगार रहनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
मेलामा रोजगारसम्बन्धी सेवामूलक कक्षहरू पनि सञ्चालनमा छन्। रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र र सोधपुछ कक्षमार्फत सहभागीलाई आवश्यक जानकारी तथा सहजीकरण प्रदान गरिएको छ। मेलामा आउने सेवाग्राहीलाई रोजगारीका अवसर, सीप विकाससम्बन्धी कार्यक्रम र रोजगारसम्बन्धी सरकारी सेवाबारे जानकारी दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आजै उद्योगी, व्यवसायी र सरोकार भएका निकायका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ। अन्तरक्रियामा स्थानीय श्रम बजारको अवस्था, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्रका आवश्यकता तथा स्थानीय तहको भूमिकाबारे छलफल गरिएको नगरपालिकाका प्रवक्ता पाण्डेले बताए।
सहभागीले सीपमूलक तालिमलाई बजारको मागसँग जोड्नुपर्ने, युवा जनशक्तिलाई स्वदेशमा रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने तथा रोजगार प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन्। विर्तामोड उद्योग वाणिज्य सङ्घको सहकार्यमा सञ्चालन भएको रोजगार मेलाले स्थानीय तहमा रोजगारसम्बन्धी सूचना प्रवाह, निजी क्षेत्रसँगको समन्वय र बेरोजगार युवालाई अवसरसँग जोड्ने माध्यमका रूपमा काम गर्ने विश्वास गरिएको छ।


