
टिचिङ अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरका लागि काठमाडौँ महानगरपालिकाको सहयोग

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित टिचिङ अस्पतालको बहिरङ्ग (ओपीडी) सेवालाई थप प्रभावकारी र बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।
बुधबार आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका प्रमुख प्रा.डा सुवास आचार्यलाई उपकरण हस्तान्तरण गरेकी हुन् । महानगरले सार्वजनिक खरिद प्रक्रियामार्फत १ करोड ७० लाख १६ हजार ६७० रुपैयाँमा खरिद गरिएका उपकरण अस्पताललाई उपलब्ध गराएको जनाएको छ।
हस्तान्तरण गरिएका उपकरणमा शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा घरबाटै उपचार शुल्क जम्मा गर्न सकिने सुविधा भएका १६ वटा इन्टरेक्टिभ किओस्क मेसिन र उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण एकै स्थानबाट हेर्न सकिने ६५ वटा ‘अल इन वन’ डेस्कटप कम्प्युटर रहेका छन्। साथै अस्पतालको सेवा प्रवाहलाई छिटो र व्यवस्थित बनाउन सर्भर तथा र्यामको क्षमता पनि विस्तार गरिएको छ।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीले टिकट काट्न र शुल्क तिर्न लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रविधिमार्फत सुधार आवश्यक रहेको बताइन्।
“बिरामी र उहाँका आफन्तहरू पहिले नै पीडामा हुनुहुन्छ। उपचारका क्रममा थप सास्ती नहोस्, टिकट काट्न र शुल्क तिर्न घण्टौँ लाइनमा बस्न नपरोस् भन्ने उद्देश्यले हामीले यो सहयोग गरेका हौँ,” उनले भनिन् ।
डंगोलले महानगरपालिकाले नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै अस्पतालसँगको सहकार्यलाई विशेष महत्व दिएको बताइन् । आगामी दिनमा अस्पतालसँगको सहकार्यमा टेलिहेल्थ तथा टेलि–सर्भिस सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि उनले चर्चा गरिन् ।
अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यले महानगरबाट प्राप्त सहयोगले सेवा व्यवस्थापनमा महत्वपूर्ण सुधार आएको बताए । उनका अनुसार पहिलो चरणको सहयोगबाट सेवाग्राहीले प्रत्यक्ष अनुभव गर्न सक्ने परिवर्तन भएको छ भने दोस्रो चरणको सहयोग प्राप्त भए क्यान्सर उपचारलगायतका धेरै सेवालाई ‘पेपरलेस’ र ‘फेसलेस’ प्रणालीमा रूपान्तरण गर्न सकिनेछ।
कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा।. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले महानगरपालिकाबाट प्राप्त सहयोगले अस्पतालको सेवा व्यवस्थापनलाई सहज बनाएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे । वडा अध्यक्ष प्रेम थापाले वडा कार्यालयको सहयोगमा अस्पतालको पश्चिम क्षेत्रबाट पहुँच मार्ग खुलाइएको जानकारी दिए।
महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको बताए । उनले महानगरको सहयोगबाट अस्पतालको सेवा व्यवस्थापनमा सुधार आउनुका साथै महानगरवासीले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे।
काठमाडौँ महानगरपालिकाले यसअघि कोभिड–१९ महामारी नियन्त्रणका लागि भेन्टिलेटर, सिटी स्क्यान मेसिन तथा अस्पतालको बेड क्यु व्यवस्थापन प्रणालीलगायत विभिन्न स्वास्थ्य उपकरण र प्रविधि उपलब्ध गराइसकेको छ।

