
माथिल्लो त्रिशूली–१ मा वियर गेट परीक्षण सम्पन्न



काठमाडौं । निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले बाँध संरचनाको वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गर्दै अर्को महत्वपूर्ण प्राविधिक चरण पार गरेको छ।
रसुवामा आयोजित कार्यक्रममा आयोजनाको हाइड्रो–मेकानिकल संरचनाअन्तर्गत तीनमध्ये एक वियर गेटको परीक्षण सम्पन्न गरिएको हो। कार्यक्रममा संघीय सांसद मोहन आचार्य, ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम, विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठ, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ तथा आयोजनासम्बद्ध अधिकारीहरूको सहभागिता रहेको थियो।
वियर गेटको सफल परीक्षणपछि नदीको बहाव नियन्त्रण, पानीको प्रवाहलाई सुरुङतर्फ मोड्ने र बाँधमा आवश्यक जलस्तर कायम राख्ने प्रणाली थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले आयोजनाको निर्माण प्रक्रियालाई थप सहज र तीव्र बनाउने विश्वास गरिएको छ।
आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले यो चरण पार हुनु आयोजनाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यमा कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए।
ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमले यसलाई आयोजनाको प्राविधिक प्रगतिको सकारात्मक संकेत भन्दै सरकारको तर्फबाट आवश्यक सहजीकरण जारी रहने बताए। सांसद मोहन आचार्यले आयोजना समयमै सम्पन्न गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको उल्लेख गरे।
दक्षिण कोरियाको सरकारी स्वामित्वको कम्पनी कोरिया साउथ–इस्ट पावर कम्पनी (कोएन) को नेतृत्वमा निर्माण भइरहेको यो आयोजना नेपालकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीको जलविद्युत आयोजना हो। आयोजनाको बाँध रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा र भूमिगत विद्युतगृह उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको छ। २०७८ पुसदेखि सुरु भएको निर्माण कार्य विभिन्न चरणमा अघि बढिरहेको छ।
हालसम्म ९.५ किलोमिटर मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने कंक्रिट लाइनिङको काम जारी छ। २९२ मिटर लामो ठाडो सुरुङ पनि पूरा भइसकेको छ। विद्युतगृहको सिभिल संरचना सम्पन्न भइसकेको छ भने टर्बाइन र जेनेरेटर जडान कार्य जारी छ। समग्र आयोजनाको भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको छ।
त्रिशूली नदीमा आएको बाढीका कारण केही अवरोध देखिए पनि सन् २०२७ को मध्यसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट वार्षिक करिब १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान दिनेछ।


