
रास्वपाका ५ सहति ६ जना सांसदले बुझाएनन् सम्पत्ति विवर



काठमाडौं । ६ जना प्रतिनिधिसभा सदस्यले समयमै आफ्नो सम्पति विवरण नबुझाएको पाइएको छ । संघीय संसद् सचिवालयले यही जेठ १० गतेसम्म सांसदहरूलाई सम्पति विवरण बुझाउन भनेको थियो । तोकिएको समयमा २५४ जना सांसदले सम्पति विवरण बुझाएका छन् ।
सम्पत्ति विवरण नबुझाउने ६ जना सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका ५ जना रहेका छन् भने एक जना नेपाली कम्युनिस्ट पार्टीका सांसद् छन् । संसद् सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढाले म्याद थपका लागि निवेदन दिएका छन् । कानुनतः म्याद थपको निवेदन प्राप्त भएको खण्डमा थप ३० दिनको समय सम्पति विवरण बुझाउनका निम्ति प्राप्त हुनेछ ।
बाँकी ५ जनाले सम्पति विवरण बुझाउनका निम्ति म्याद थपको निवेदन समेत दिएका छैनन् । रास्वपाका सांसदहरू आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् । प्रमोद कुमार महतो महोत्तरीका हुन् भने रबिन महतो सर्लाहीका हुन् । आशा झा मोरङकी हुन् । ज्ञवाली कैलालीका हुन् भने तपेश्वर यादव सिरहाका हुन् । हाल १७ जना मन्त्री रहेका छन् । मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै सम्पति विवरण बुझाए हुन्छ । एक जना बहालवाला मन्त्रीले पनि आफ्नो सम्पति विवरण संसद् सचिवालयमा बुझाएको बताइएको छ ।
प्रतिनिधिसभा २७५ सदस्यीय छ । भ्रष्टाचार निवारण ऐनको दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । दुवै ऐनमा सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।
समयमै सम्पत्ति विवरण पेश नगर्नेलाई १० हजार रुपैयाँ जरिबाना साथै सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा छानबिन अघि बढाउन सक्ने कानुनी व्यवस्था छ ।


