
सेयर धितो कर्जा १ खर्ब ५९ अर्ब नाघ्यो, ठुलाको हिस्सा १ खर्ब माथि



काठमाडौं । पछिल्लो समय सेयर बजारमा साना लगानीकर्ताको अकार्षण बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार साना लगानीकर्ताहरुले लिने मार्जिन कर्जामा उलेख्य वृद्धि देखिएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको अवधिमा २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा ४७.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ रहेको २५ लाखमुनिको सेयर धितो कर्जा चैत मसान्तसम्म बढेर १२ अर्ब ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ९ महिनाको अवधिमा मात्रै यो शीर्षकमा ३ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ थपिएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कुल सेयर धितो कर्जा भने चैत मसान्तसम्म १ खर्ब ५९ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत असारमा यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो । यसरी ९ महिनामा मात्रै १८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ थप कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार साना कर्जाको वृद्धि तीव्र देखिए पनि कुल हिस्साका आधारमा भने ठूला लगानीकर्ताकै प्रभुत्व कायम छ । १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा मात्रै १ खर्ब ९ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन कुल मार्जिन कर्जाको करिब ६९ प्रतिशत हो । यो वर्गमा ९ महिनामा ११.१ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १४ प्रतिशतले बढेर १८ अर्ब २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड १७ लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले दुई आर्थिक वर्षको तुलनात्मक विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा सेयर धितो कर्जा ३७.८ प्रतिशतले बढेको उल्लेख गरेको छ । चालु वर्षमा वृद्धिदर १३.४ प्रतिशतमा सीमित देखिए पनि कुल कर्जाको आकार भने ऐतिहासिक उचाइमा पुगेको छ ।
हाल बैंकहरूले सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमा जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म कर्जा दिने गरेका छन् । तर, कर्जा प्रवाह तीव्र रूपमा बढे पनि नेप्से परिसूचकमा सोही अनुपातको सुधार भने देखिएको छैन । बजार अझै राजनीतिक अन्योल, आर्थिक सुस्तता र लगानीकर्ताको मनोवैज्ञानिक दबाबबाट पूर्ण रूपमा मुक्त हुन नसकेको लगानीकर्ताहरुकाले बताउने गरेका छन् ।


