
उद्योग वाणिज्य महासंघद्वारा मूल्य पारदर्शिता सप्ताहमा अनिवार्य मूल्यसूची राख्न आह्वान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता सप्ताह’ लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी–व्यवसायीहरूलाई उक्त अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने निर्णय गरेसँगै महासंघले आफ्नो ऐक्यबद्धता जनाउँदै अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता कायम गर्न तथा स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। महासंघले मन्त्रालयको परिपत्रअनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू तथा आबद्ध व्यवसायीहरूलाई आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची अनिवार्य रूपमा स्पष्ट देखिने गरी राख्न आग्रह गरेको छ।
त्यसैगरी, महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आ–आफ्नो क्षेत्रका बजारमा मूल्यसूची राखिएको वा नराखिएको सुनिश्चित गर्न, आवश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा अभियान सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।


