
राष्ट्रपतिबाट गरे ६ अध्यादेश जारी, दुई वटा अझै अध्ययनकै क्रममा



काठमाडौं । राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेबम हुन् ।
शनिबार अपराह्न राष्ट्रपतिले तीन वटा अध्यादेश जारी गरेका हुन् । यो सँगै ६ वटा अध्यादेश जारी भएका छन् । सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलको चासो छ । यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको यो अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।
प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्ने सुझाव कानुनविद्हरूले दिए पनि यसको ठोस निष्कर्षमा भने राष्ट्रपति पौडेल पुगेका छैनन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने आजको निर्णय भएको सूचीमा छैन । त्यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न भन्दै सिफारिस भएको अध्यादेशमाथि पनि राष्ट्रपतिले छलफल गरिरहेका छन् ।
कुन कुन भए सिफारिस ?
राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् । राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो । त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।
आज (१९ वैशाख, शनिबार) भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ शनिबार दिउँसो जारी भएको हो ।


