
व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश



काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो। सर्वोच्चको आदेशमा ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्नु’ भनिएको छ।
गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमा गोल्छालाई गैरकानुनी तरिकाले थुनामा राखिएको दाबी गर्दै रिहाका लागि आदेश माग गरिएको थियो।
यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ। सर्वोच्चले ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित’ लिखित जवाफ पेश गर्न भनेको छ।
मंगलबार गोल्छाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल तथा अधिवक्ताद्वय पंकजकुमार कर्ण र सूर्यराज दाहालले बहस गरेका थिए।
गोल्छाकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको थियो।


