
पञ्जाबद्वारा कीर्तिमानी लक्ष्य पछ्याउँदै जित, राहुलको १५२ रन छायाँमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याएको छ । दिल्लीमा शुक्रबार राति भएको खेलमा दिल्लीले दिएको २ सय ६५ रनको विशाल लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाएर २ सय ६५ रन बनाउँदै पूरा ग¥यो। पञ्जाबले ७ बल बाँकी रहँदा जित निकालेको हो।
पञ्जाबको जितमा प्रब्सिम्रन सिंह (७६ रन), प्रियान्श आर्या (४३ रन) र कप्तान श्रेयस अय्यर (३६ बलमा अविजित ७१ रन) ले उत्कृष्ट प्रदर्शन गरे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा २ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो। दिल्लीका केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै ६७ बलमा अविजित १ सय ५२ रन बनाए। यो आइपिएलमा कुनै भारतीय खेलाडीले बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो।
राहुलले २६ बलमै अर्धशतक पूरा गरे भने ४७ बलमा शतक बनाए । राहुलले इनिङ्सभर उत्कृष्ट आक्रामकता देखाउँदै १ सय बाट १ सय ५० रनसम्म पुग्न केवल १९ बल खर्चिए। उनलाई नितीश राणाले राम्रो साथ दिए। राणाले ४४ बलमा ९१ रन बनाए। राहुल र राणाबीच २ सय २० रनको साझेदारी भएको थियो । जुन दिल्लीका लागि सबैभन्दा ठूलो साझेदारी बनेको छ। विशाल लक्ष्य पछ्याएको पञ्जाबले सुरुदेखि नै आक्रामक ब्याटिङ ग¥यो। ओपनर प्रियान्श आर्या र प्रब्सिम्रन सिंहले पावरप्लेमा मात्र १ सय १६ रनको साझेदारी गर्दै टोलीलाई बलियो आधार तयार पारे। आइपिएल इतिहासमा यो दोस्रो उच्च पावरप्ले स्कोर हो। पावरप्ले सकिँदा पञ्जाबले विकेट नगुमाई १ सय १६ रन बनायो।
दिल्लीका स्पिनर अक्षर पटेल र कुलदीप यादवले सातौं र आठौं ओभरमा ओपनरलाई आउट गर्दै खेलमा फर्कने प्रयास गरे। कुलदीप यादवले २ विकेट लिएर पञ्जाबलाई १० ओभरमा १४५÷३ को अवस्थामा पुर्याए। त्यसपछि पञ्जाबका कप्तान श्रेयस अय्यरले संयमित र आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हाले। उनले २६ बलमा अर्धशतक पूरा गर्दै पञ्जाबलाई लक्ष्य नजिक पु¥याए। अन्त्यतिर शशांक सिंहसँग मिलेर अय्यरले लगातार छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।


