
काठमाडौँमा वायु प्रदूषण बढेर ‘धेरै अस्वस्थ’ तहमा पुग्यो: एक्युआई



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषण तीव्र रूपमा बढेको छ । केही दिनअघिसम्म वर्षात् पछि सुधार देखिएको वायु गुणस्तर पुनः खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको हो ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको सूचकाङ्क आज बिहान ११ बजेसम्म आइपुग्दा ह्वात्तै बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने जोखिम बढेको विज्ञहरू बताउँछन् ।
एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’, ५१ देखि १०० ‘मध्यम’, १०१ देखि १५० ‘अस्वस्थ’, १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । हालको अवस्था सोही मापदण्डअनुसार गम्भीर श्रेणीमा पुगेको देखिन्छ ।
वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् । उवर्षा अभावका कारण धुलो र धुवाँका सूक्ष्म कणहरू वायुमण्डलमै थुप्रिने अवस्था सिर्जना भएको छ ।
वायु प्रदूषणको प्रत्यक्ष असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुका रोगीमा बढी पर्ने जनाइएको छ । स्वास्थ्य विज्ञहरूले अत्यावश्यक बाहेक बाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाव दिएका छन् ।


