
जडेजाको अलराउन्ड प्रदर्शनमा राजस्थानको जित



काठमाडौं । रविन्द्र जडेजाको उत्कृष्ट अलराउन्ड प्रदर्शन र बलरहरूको सामूहिक प्रभावशाली बलिङको मद्दतमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ । लखनऊस्थित एकाना स्टेडियममा भएको खेलमा यो जितसँगै राजस्थानले लगातार दुई हारपछि पुनः जितको बाटो समातेको हो । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो । जवाफमा लखनऊ १८ ओभरमै १ सय १९ रनमा समेटिँदै पराजित भयो ।
राजस्थानको सुरुवात भने राम्रो हुन सकेन । मोहम्मद शामीले यशस्वी जयसवाल र ध्रुव जुरेललाई लगातार बलमा आउट गर्दै राजस्थानलाई दबाबमा पारे। त्यसपछि मोसिन खानले कसीलो बलिङ गर्दै रन बनाउन थप कठिन बनाए । वैभव सूर्यवंशी पनि छिट्टै आउट राजस्थान ४ ओभरभित्रै ३२ रन बनाउँदा ३ विकेट गुमाएर संकटमा परेको थियो । सुरुवाती संकटपछि रविन्द्र जडेजाले जिम्मेवार ब्याटिङ गर्दै टोलीको पारी सम्हाले । उनले रियान पराग र शिमरोन हेटमायरसँग मिलेर पारीलाई अघि बढाउने प्रयास गरे ।
पराग र हेटमायरले चौथो विकेटका लागि ३० रनको साझेदारी गरेपछि दबाब केही कम भयो । त्यसपछि जडेजाले डोनोभान फरेरासँग ३३ रनको महत्वपूर्ण साझेदारी गरे । पारीको अन्तिम चरणमा जडेजाले इम्प्याक्ट सबका रूपमा आएका शिवम दुबेसँग मिलेर आक्रामक ब्याटिङ गरे। दुवैले केवल २५ बलमा अविजित ४९ रनको साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याए ।
अन्तिम दुई ओभरमा मात्र ३२ रन जोडिएपछि राजस्थानले सम्मानजनक योगफल बनाउन सफल भयो । जडेजाले २९ बलमा अविजित ४३ रन बनाउँदै टोलीको स्कोर उकास्न निर्णायक भूमिका खेले । १ सय ५९ रनको लक्ष्य पछ्याएको लखनऊले पनि राम्रो सुरुवात गर्न सकेन। आयुष बदोनी रनआउट भए भने कप्तान ऋषभ पन्त शून्य रनमै पवेलियन फर्किए। एडेन मार्करम पनि खाता नखोली आउट भएपछि लखनऊ सुरुवातमै दबाबमा पर्यो ।
पावरप्ले समाप्त हुँदा लखनऊ ३१ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। टोली संकटमा परेपछि मिचेल मार्शले जिम्मेवार इनिङ्स खेल्दै पारी सम्हाल्ने प्रयास गरे। उनले निकोलस पूरनसँग ४३ रनको तथा हिम्मत सिंहसँग ३७ रनको साझेदारी गर्दै लखनऊलाई खेलमा फर्काउने प्रयास गरे । मार्शले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले। तर उनी आउट भएपछि लखनऊको पारी फेरि धराशायी बन्यो ।
राजस्थानका बलरहरूले अनुशासित बलिङ गर्दै लखनऊलाई ठूलो साझेदारी बनाउन दिएनन् । जोफ्रा आर्चरले ३ , नान्द्रे बर्गरले २ र रविन्द्र जडेजाले १ विकेट लिए । अन्तिमतिर ब्रिजेशले लगातार विकेट लिँदा लखनऊ १८ ओभरमै १ सय १९ रनमा अलआउट भयो ।


