
यी हुन् पटकपटक ताकेता गर्दा पनि भृकुटीमण्डपका स्टल तथा भवनको भाडा नबुझाउनेहरू (नामावली)



काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रमा रहेका पक्की स्टल, बुथ, भवन लगायतका संरचना प्रयोग गरेबापत भाडा रकम नबुझाउने १८ जना व्यक्ति तथा संघ–संस्थाको नाम सार्वजनिक गरेको छ ।
उनीहरूलाई एक सताभित्रमै भाडाबापतको बक्यौता बुझाउन परिषद्ले ताकेता गरेको हो । भाडा बापतको रकम बुझाउन पटकपटक पत्राचार, सार्वजनिक सूचना जारी गर्दा पनि केही संस्थासहित १८ जनाले अझै बक्यौता नबुझाएका परिषद्ले जनाएको छ।
उपभोक्ता मञ्च नेपाल, लोकतान्त्रिक सहिद तथा घाइते समाज, नेपाल पत्रकार महासंघ, मनकला श्रेष्ठ, टिकाराम सिटौला, कृष्णप्रसाद लामिछाने, रिपोर्टर्स क्वव, सेन्थेसिस एक्जिविसन एण्ड ईभेन्ट्स, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, हरि अमात्य, बुद्धिराम भुसाल, नेपाल फोटो पत्रकार महासंघ, नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्च, राष्ट्रिय अपांग महासंघ, बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ, यशोदा कुमारी सेठी, चित्रबहादुर पण्डित क्षेत्री र मञ्जु तिमिल्सिनाले भाडा बापतको रकम बुझाउन अटेर गरेका परिषद्ले जनाएको छ।
परिषद्ले सम्बन्धित व्यक्ति र संस्थाहरूलाई बक्यौता दाखिला गर्न गएको वैशाख १ गतेदेखि सात दिनको समय दिएको थियो। यस अवधिमा केही व्यवसायी तथा संस्थाले रकम दाखिला गरे पनि अन्यले नगरेका हुन् । अबको सात दिनको अवधिमा पनि रकम दाखिला नगरे प्रचलित कानुन बमोजिम असुलउपरको कारबाही अघि बढाइने चेतावनीसमेत परिषद्ले दिएको छ ।




