
अर्जुन र आङलाई मञ्जुश्री ट्रेल रेस उपाधि



काठमाडौं । मञ्जुश्री ट्रेल रेस (एमटिआर) को छैटौँ संस्करणमा अर्जुन कुलुङ राई र आङ फुर्बा शेर्पा विजेता बनेका छन्। प्रतियोगिताको मुख्य विधा १०० माइल्स दौडमा अर्जुनले २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। उनले अघिल्लो वर्ष पनि उपाधि जितेका थिए ।
मिलन कुलुङ राई २७ घण्टा ०५ मिनेट १८ सेकेन्डमा दोस्रो र विजय राना मगर २८ घण्टा २५ मिनेट १७ सेकेन्डमा तेस्रो भए। मिलन अघिल्लो संस्करणमा पनि उपविजेता बनेका थिए। महिलातर्फको १०० माइल्स दौडमा आङ ३३ घण्टा १३ मिनेट ०६ सेकेन्ड समयसहित विजेता बनिन् ।न्युजिल्यान्डकी एनी माइ बान दोस्रो र नेपालकी अनिता राई तेस्रो स्थानमा रहिन्।
८० किलोमिटर दौड मा सुर्यराज राई पहिलो, दावा तामाङ दोस्रो र हरेन्द्रकुमार चौधरी तेस्रो भए। महिलातर्फ भारतकी दाकाही क्युनडाइट पहिलो, भारतकै नाङक्युसुकी स्लोङ दोस्रो र बेलायतकी अलेक्जान्द्रा रिग्ली तेस्रो बनिन्। ५० किलोमिटर पुरुषतर्फ गोपाल तामाङ पहिलो, होमलाल श्रेष्ठ दोस्रो र मानकुमार रोका मगर तेस्रो भए। महिलातर्फ सुनसरी रोकाया पहिलो, राज्यलक्ष्मी रावल दोस्रो र कल्पना बुढा तेस्रो स्थानमा रहिन्।
२० किलोमिटर दौड मा पुरुषतर्फ विशालबहादुर तामाङ पहिलो, दीपक तामाङ दोस्रो र पासाङ तामाङ तेस्रो भए। महिलातर्फ मेरी इगेन पहिलो, टुवा मेरी स्कार दोस्रो र जोहानेसवर्ग रिमर तेस्रो बनिन्। त्यस्तै १० किलोमिटर पुरुषतर्फ सुहन तामाङ पहिलो, विशाल तामाङ दोस्रो र सौगत आरसी तेस्रो भए। महिलातर्फ कर्सल लामा पहिलो, अना लेना दोस्रो र एबी साभिन तेस्रो स्थानमा रहिन्।
प्रतियोगिताको १०० माइल्स दौड वैशाख ४ गते पातलेवनबाट सुरु भई काठमाडौँ उपत्यकाको परिक्रमा गर्दै वैशाख ६ गते पातलेवनमै पुगेर सकिएको थियो। ८०, ५०, २० र १० किलोमिटरका दौड क्रमशः नगरकोट, गोदावरी, फर्पिङ र पातलेवनबाट सुरु भएर पातलेवनमै समाप्त भएका थिए। यस वर्षको प्रतियोगितामा ३० देशका ६०० भन्दा बढी धावकधाविका सहभागी भएका थिए। प्रतियोगिताको सातौँ संस्करण सन् २०२७ मार्च ५ देखि ७ सम्म आयोजना गर्ने तयारी गरिएको छ।


