
चितवनमा ठुलो लगानीमा एसवाई प्यानलको अत्याधुनिक कारखाना



काठमाडौँ । चितवनको रत्ननगरमा दक्षिण कोरियाली प्रविधिमा आधारित एसवाई प्यानल नेपालले आफ्नो उत्पादन क्षमता विस्तार गर्दै नयाँ युपिभिसी प्रोफाइल उद्योगको निर्माण सुरु गरेको छ ।
रत्ननगर नगरपालिका–१४ पिठुवामा सोमबार आयोजित एक विशेष समारोहका बीच ६० करोड रुपैयाँको लगानीमा स्थापना हुन लागेको यस अत्याधुनिक कारखानाको शिलान्यास गरिएको हो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ–पुले संयुक्त रूपमा उद्योगको जग बसालेसँगै नेपाली आवासीय निर्माण क्षेत्रमा नयाँ व्यावसायिक अध्यायको सुरुवात भएको छ ।
कम्पनीले हालै सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेर संकलन गरेको पुँजीलाई प्रत्यक्ष उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति अन्तर्गत यो कारखाना सञ्चालनमा ल्याउन लागिएको कार्यकारी प्रमुख होङ सङ–पुले बताए ।
आगामी ६ महिनाभित्रै निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखिएको यस उद्योगले झ्याल, ढोका र पार्टेसनका लागि आवश्यक पर्ने उच्च गुणस्तरको युपिभिसी प्रोफाइल तयार गर्नेछ । नेपालमा नयाँ र बलियो राजनीतिक शक्तिको रूपमा बालेन सरकारको उदय भएपछि लगानीकर्ताहरूमा सकारात्मक उत्साह देखिएको र यसै वातावरणको लाभ उठाउँदै कम्पनीले आफ्नो लगानी विस्तार गर्ने प्रयासलाई तीव्रता दिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको प्रविधि प्रयोग गरी स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्दा निर्माण सामग्रीको लागत घट्ने र उपभोक्ताले सुलभ मूल्यमा टिकाउ सामग्री पाउने विश्वास कम्पनीले लिएको छ । शिलान्यास कार्यक्रममा मेयर प्रलाद सापकोटाले नगर क्षेत्रभित्र सञ्चालन हुने उद्योगहरूको सुरक्षाको पूर्ण जिम्मेवारी स्थानीय सरकारले लिने बताए ।
उनले उद्योग स्थापनाले स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र नगरको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गर्दै रोजगारीमा स्थानीय विपन्न तथा गरिब समुदायका युवाहरूलाई प्राथमिकता दिन आग्रह गरे ।
विगत २०७४ सालदेखि पिठुवामै आफ्नो पहिलो प्लान्ट स्थापना गरी सञ्चालनमा रहेको एसवाई प्यानलले हाल आफ्ना उत्पादनहरू छिमेकी मुलुक भारत र भुटानमा समेत निर्यात गर्दै आएको छ । कम्पनीका निर्देशक अनिल सापकोटाका अनुसार नयाँ कारखानाले स्थानीय स्तरमा सीप विकास र औद्योगिक सुदृढीकरणमा थप योगदान पुर्याउनेछ ।
आधुनिक प्रविधिका कारण घरहरूको टिकाउ क्षमता बढ्ने, ध्वनि र तापक्रम नियन्त्रण हुने भएकाले नेपाली आवासीय क्षेत्रलाई थप सुरक्षित र वातावरणमैत्री बनाउन यो परियोजना सफल हुने अपेक्षा गरिएको छ । उद्योगले स्थानीय जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने र औद्योगिक वृद्धिमार्फत मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेको छ ।


