
उद्योग वाणिज्य महासंघद्वारा ‘इमान’ सम्मानित



काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)लाई सम्मान गरेको छ । २७औँ वार्षिक साधारणसभाको अवसरमा इमानलाई संस्थागत रुपमा महासंघले सम्मान गरेको हो ।
बुधबार काठमाडौंमा आयोजित भव्य समारोहकाबीच महासंघ अध्यक्ष ढकालले इमान अध्यक्ष रोयल आचार्यलाई सम्मान पत्र हस्तान्तरण गरे । सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकाल सफल बनाउन मिडियाको तर्फबाट भूमिका खेलेको भन्दै अध्यक्ष आचार्य र इमानलाई धन्यबाद समेत दिए ।
सम्मानपत्र ग्रहण पछि कार्यकाल दमदार रुपमा सम्पन्न गरेकोमा ढकाललाई बधाई दिए । समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, सुरकृष्ण बैद्यसहितले अध्यक्ष आचार्यमार्फत इमानलाई आभार व्यक्त गरेका थिए । इमानका कार्यबाहक महासचिव टंक कार्कीले सम्मानले इमानलाई थप हौसला मिलेको बताउदै महासंघ र इमानबीच आगामी दिनमा पनि सहकार्य जारी रहने बताए । कार्यक्रममा सहभागी इमानका कोषाध्यक्ष अमिर लामाले पनि इमानलाई महासंघले गर्दै आएको यस किसिमको सम्मानप्रति आभार व्यक्त गरेका थिए ।
महासंघ अध्यक्ष ढकालको कार्यकाल सकिनु अगाडि आयोजित सम्मान कार्यक्रममा इमानसहित नेपाल पत्रकार महासंघ, आर्थिक पत्रकार समाज, आर्थिक पत्रकार संघसहितका संस्थाहरुलाई संस्थागत सम्मान गरिएको थियो ।


