
पल्लवी लुब्रिकेन्ट्सको लोभलाग्दो वित्तीय प्रगति



काठमाडौँ । नेपालको लुब्रिकेन्ट्स बजारमा उदाउँदो स्वदेशी ब्रान्ड ‘अपाेलाे’ र ‘गुडराइड’ को उत्पादक पल्लवी लुब्रिकेन्ट्स लिमिटेडको व्यापारिक ग्राफ पछिल्ला वर्षहरूमा उत्साहजनक रूपमा बढ्दो क्रममा देखिएको छ।
सन् २०२२ मा प्राइभेट लिमिटेडका रूपमा स्थापना भई सन् २०२४ जुनमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले छोटो अवधिमै आफ्नो बजार हिस्सा विस्तार गर्न सफल भएको छ।
कम्पनीले चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो सात महिना (मध्य-फेब्रुअरी २०२६ सम्म) मा १८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेकाे छ। सवारी साधनहरूको चहलपहल बढ्ने वर्षको दोस्रो छ महिनामा व्यापार अझै बढ्ने प्रक्षेपण गरिएको छ ।
यसअघि आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले ४० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ६६ प्रतिशतको वृद्धि हो ।
कम्पनीको व्यापारिक यात्रा हेर्दा आर्थिक वर्ष २०२३/२४ मा २४ करोड २० लाख रुपैयाँ र सुरुवाती वर्ष २०२२/२३ मा ४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यसरी हेर्दा पछिल्लो चार वर्षको अवधिमा कम्पनीको आम्दानी निरन्तर र उल्लेख्य रूपमा बढ्दो क्रममा रहेको देखिन्छ ।
व्यापारसँगै कम्पनीको नाफा कमाउने क्षमतामा पनि सुधार आएको छ। सन् २०२३ मा ऋणात्मक रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ९.९९ प्रतिशत र सन् २०२५ मा बढेर १३.३३ प्रतिशत पुगेको छ । सन् २०२६ को सात महिनामा यस्तो मार्जिन १५.८९ प्रतिशत कायम भएको छ ।
खुद नाफाको हिसाबले सन् २०२४ मा ७० लाख रुपैयाँ कमाएको कम्पनीले सन् २०२५ मा २ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
ऋण व्यवस्थापन र ब्याज तिर्ने क्षमताका आधारमा पनि पल्लवी लुब्रिकेन्ट्स मजबुत बन्दै गएको देखिन्छ। सन् २०२४ मा ३.०४ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२५ मा सुधारिएर ३.३१ गुणा पुगेको छ ।
यस्तै, सञ्चालकहरूबाट थपिएको ११८ करोड ७० लाख रुपैयाँ पूँजीका कारण कम्पनीको ऋण र स्वपूँजीको अनुपात सन् २०२४ को ४.०२ गुणाबाट घटेर सन् २०२५ मा १.५४ गुणामा झरेको छ । सन् २०२६ को पहिलो सात महिनामा यो अनुपात थप सुधारिएर ०.७४ गुणा कायम भएको छ ।
केयर रेटिङ्स नेपालले कम्पनीको वित्तीय अवस्था र समयमै दायित्व पुरा गर्न सक्ने क्षमतालाई मूल्यांकन गर्दै ‘केयर-एनपी बीबी प्लस’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्थाहरूमा वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यमस्तरको जोखिम रहेको मानिन्छ ।
कम्पनीले भारत र अस्ट्रेलियाबाट कच्चा पदार्थ आयात गरी लुब्रिकेन्ट्स र ग्रिज उत्पादन गर्दै आएको छ ।
राठी ग्रुपको लगानी रहेको यस कम्पनीको नेतृत्व दुई दशकभन्दा बढी अनुभव भएका श्याम राठी र प्रबन्ध निर्देशक अरुण बियानीले गरिरहेका छन् ।
हाल ४० भन्दा बढी डिलरहरूमार्फत देशभर सञ्जाल विस्तार गरेको यस कम्पनीका लागि कच्चा तेलको मूल्यमा हुने उतारचढाव र विदेशी मुद्रा विनिमय दर मुख्य चुनौतीका रूपमा रहेका छन् ।


