
फ्लोरा एक्स्पो : १ करोड २२ लाख बढीको कारोबार



काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो १ करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए ।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित यही ५ चैतदेखि मेला सुरु भएको थियो । मेला कुल ६० हजार ७०० जनाले अवलोकन गरेका थिए । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई स्टल रहेका थिए । पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ ।
गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकामा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । निर्याततर्फ भने एक सय ९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिए ।

