
इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण



काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ । इजरायल र अमेरिकाले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार क्षेत्र साउथ पर्स ग्यास फिल्डमा आक्रमण गरेपछि इरानले प्रतिकारस्वरूप कतारको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गर्दा ठूलो क्षति भएको छ ।
कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो । आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ । यो घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको बीबीसीले जनाएको छ ।
कतारको गृह मन्त्रालयले केही घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र मानवीय क्षति नभएको जनाएको छ । कतार सरकारले यस आक्रमणलाई आफ्नो राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थिरतामाथि सीधा खतरा भन्दै कडा प्रतिक्रिया दिएको छ । विदेश मन्त्रालयले इरानले ‘तनाव बढाउने नीति’ जारी राखेको आरोप लगाउँदै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ ।
यो कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा पर्ने ठूलो औद्योगिक सहर हो । सन् १९६६ मा विशेष रूपमा प्राकृतिक ग्यास उद्योगका लागि निर्माण गरिएको हो । यहाँ मुख्यरुपमा प्राकृतिक ग्यास उत्पादन र प्रशोधन गरेर विश्वभर पठाइन्छ । सरल भाषामा भन्दा यो कतारको “ग्यास राजधानी” जस्तै हो, जहाँबाट प्रशोधित ग्यास संसारभर पुग्छ ।

