
वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकको ७ अर्ब ऋण



काठमाडौँ । वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर सुधार गर्ने उद्देश्यले विश्व बैंकले नेपालका लागि सात अर्ब सात करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ।
वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम “नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट” कार्यान्वयनका लागि स्वीकृत गरिएको हो। परियोजना विशेषगरी वायु प्रदूषणको उच्च जोखिम रहेका काठमाडौँ उपत्यका तथा तराइका केही क्षेत्रमा सञ्चालन गरिनेछ।
परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। यसका लागि उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोगलाई प्रोत्साहन गर्ने, प्रदूषण नियन्त्रणका उपाय लागू गर्ने तथा वातावरणमैत्री उत्पादन प्रणाली विकासमा सहयोग गरिने जनाइएको छ।
विश्व बैंकका अनुसार परियोजनाले वायु प्रदूषण घटाउने मात्र नभई आर्थिक गतिविधिलाई पनि वातावरणमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी उद्योग क्षेत्रबाट निस्कने धुँवा तथा हानिकारक कणहरू कम गरी शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ।
परियोजना कार्यान्वयन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागमार्फत गरिनेछ। साथै वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
विश्व बैंकले नेपालमा बढ्दो वायु प्रदूषण सार्वजनिक स्वास्थ्यका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यस परियोजनामार्फत स्वच्छ प्रविधि प्रवर्द्धन, प्रदूषण नियन्त्रण तथा वातावरणीय व्यवस्थापन सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

