
‘शहरी अर्थतन्त्र’को एजेन्डा सहित काठमाडौं–१ को चुनावी मैदानमा प्रवल थापा



काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका प्रबल थापा शहरी विकास, उद्यमशीलता र हरित अर्थतन्त्रलाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएका छन् । उनको चुनावी एजेन्डामा परम्परागत राजनीतिक नाराभन्दा फरक, व्यावसायिक सोच, उद्यमशीलता, दीगो र सुरक्षित शहरी व्यवस्थापन लगायतलाई प्राथमिकता दिइएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ आवासीय, शैक्षिक, व्यवसायिक र प्रशासनिक केन्द्रहरू रहेकाले संवेदनशील र महत्वपूर्ण क्षेत्रअन्तर्गत पर्ने भन्दै थापाले आफ्ना एजेण्डाहरूलाई पनि सोही अनुसार वर्गीकरण गरेका छन् । आफ्नो क्षेत्रलाई ‘गरिखाने वर्ग’को केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढेका थापाले उद्यमशीलता बिना आर्थिक समृद्धि नहुने भन्दै त्यसका निम्ति स्थायित्व आवश्यक रहेको बताए । जसमा नीतिदेखि योजनासम्ममा स्थायित्व हुनुपर्नेमा उनको जोड छ । लघु तथा मझौला व्यवसायदेखि ठूला व्यवसायिक प्रतिष्ठानहरू समेत रहेको आफ्नो क्षेत्रमा व्यवसायिक सुरक्षा र वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छन्,’अधिकारका निम्ति देशैभरबाट माइतिघरमा धर्ना बस्नुपर्छ भन्ने अवस्थालाई सुधार गरेर शिक्षा, व्यवसाय र रोजगारीका निम्ति बानेश्वर पुग्नुपर्छ भन्ने अवस्था सिर्जना गर्ने दायित्व जनप्रतिनिधिको हो, त्यसमा म योजनाबद्ध तरिकाबाट अगाडि बढ्नेछु ।’ ‘बढ्दो ट्राफिक, अव्यवस्थित पार्किङ, कमजोर सार्वजनिक सेवा र आन्दोलनको केन्द्र बन्दा काठमाडौं क्षेत्र नम्बर १ अस्तव्यस्त हुँदै गइरहेको छ । जसले गर्दा यस क्षेत्रबाट व्यवसाय पलायन हुन थालेका छन् । शैक्षिक संस्थाहरू स्थानान्तरण गर्नुपर्ने अवस्था समेत आएको हुँदा यस क्षेत्रका स्थानीयबासीमाथि ठूलो आर्थिक नोक्सानी हुन सक्ने खतरा बढेको छ,’ उनले भने- ‘यस क्षेत्रका मतदातामाात्र होइन यहाँ पेशा, व्यवसाय, अध्ययन र आवासमा आवद्ध ७७ वटै जिल्लाका नागरिकको सुरक्षा गर्नुपर्ने हाम्रो दायित्व हो।’
थापाले आर्थिक क्रियाकलापलाई वृद्धि गर्नका निम्ति वैज्ञानिक ट्राफिक व्यवस्थापन, स्मार्ट पार्किङ प्रणाली, पैदलमैत्री सडक र सार्वजनिक यातायात सुधार, भित्री सडक र बस्तीलाई ‘कनेक्टिभिटी’, भाडा सुरक्षा कानून, सहुलियत आवास, सडक बत्ती, टोल सुरक्षा जस्ता आवश्यक पूर्वाधार र वातावरण निर्माण गर्नुपर्ने बताए । थापाले स्थानीयबासीका लागि उद्यमशीलताको विकास, सीप हस्तान्तरण, स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्ने ठोस नीति आवश्यक रहेको हुँदा सो अनुसार आफू योजनाबद्ध तरिकाबाट अगाडि बढ्ने बताए ।
पर्यटन, हस्पिटालिटी सेवा तथा साना व्यवसायलाई लक्षित गर्दै नीतिगत सहजता, सहुलियतपूर्ण ऋण र उद्यम कोष विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा आफूले नेतृत्वदायी भूमिका खेल्ने उनको प्रतिबद्धता छ । उनी भन्छन्, “युवाहरू विदेश जान बाध्य नहुन्, आफ्नै शहरमा सम्मानजनक रोजगारी पाउन् ।” विदेशबाट व्यवस्थापनमा उच्च शिक्षा हासिल गरी स्वदेशमै हस्पिटालिटी व्यवसायमा संलग्न रहँदै आएका थापाले युवाहरूलाई स्वरोजगार हुन र नवीनतम व्यवसायतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।
थापाको अर्को महत्वपूर्ण एजेन्डामा हरित अर्थतन्त्र, रोजगारी र वातावरणमैत्री शहर निर्माण गर्नु अबको आवश्यकतालाई महत्वका साथ उल्लेख गरिएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ लाई ‘लो इमिसन जोन’ घोषणा गरी तद्अनुसार योजना निर्माण गर्नुपर्नेमा उनको जोड छ । सूचना प्रविधिलाई युवाहरूको रोजगारीको माध्यम बनाउन र गृहणी महिलाहरूलाई व्यवसायिक सीप प्रदान गरी घरमै रोजगारी सिर्जना गर्ने योजना समेत थापाको छ । उनले आफू यही ठाउँमा जन्मिएर हुर्किएको हुनाले शहरी गरिबीलाई नजिकबाट बुझेको भन्दै यसको न्यूनीकरणका लागि ठोस योजनाका साथ अगाडि बड्ने योजना रहेको बताए ।

