
कोशी प्राइड लिग (केपिएल) क्रिकेट हुने



काठमाडौं । कोशी प्राइड प्रालिले तेस्रो संस्करणको कोशी प्राइड लिग (केपिएल) क्रिकेट प्रतियोगिता आयोजना गर्न हुने भएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा तेस्रो संस्करणको केपिएल हुने जानकारी आयोजकले दिए ।
केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने भएको छ । प्रतियोगितामा सात टिम सहभागी हुने केपीएलका निर्देशक अफजल हुसैनले जानकारी दिए ।
प्रतियोगिताका लागि नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्सको सहभागिता रहने हुसैनले जानकारी दिए ।
नमुना ब्लास्टर्सको मालिकमा धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सको मालिकमा कल्पित ढकाल, बिर्तामोड हिट्सको मालिकमा अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । पूर्वेली सुपर किंग्सको मालिकमा भरत कार्की, एभरेस्ट थन्डर्सको मालिकमा आकाश खड्का, बीएन कोशी अर्नासको मालिकमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सको मालिकमा विजय खड्का र पुजनबाबु भट्टराई छन् ।
एक टोलीमा ११ खेलाडी हुने छन् । जसमा एक मार्की, एक आइकोनिक, तीनजना ड्राफ्टबाट (जो राष्ट्रिय टिमका हुनेछन्), क्याटगोरी ’ए’ का तीन, क्याटगोरी ’बी’ का दुई तथा क्याटगोरी ’सी’ का एक खेलाडी हुने छन् । प्रतियोगिताको अक्सन मिति पनि चाडै जानकारी दिने हुसैनले बताए ।
प्रतियोगिता आयोजना गर्न स्वीकृति र हौसला प्रदान गरेकामा नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का र कोशी प्रदेश क्रिकेट संघलाई हुसैनले धन्यवाद दिएको छ ।
‘हामी यही प्रतियोगिताबाट कोशी प्रदेश क्रिकेटको विकाससँगै ग्रासरुट कार्यक्रम राम्रो हुनेमा आशावादी छौं’, उनले भने, ‘यही प्रतियोगिताबाट नेपालीको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुने हाम्रो विश्वास छ ।’
प्रतियोगिताका लागि तयारी भव्यहरूमा अगाडि बढाएको आयोजले जानकारी दिएको छ । प्रतियोगिताका लागि प्रायोजन गर्ने संघसंस्था र महानुभावसँग हातेमालो गर्न आयोजकले आग्रह गरेको छ ।

