

भारत–अस्ट्रेलिया पहिलो टेष्ट : भारत मजबुद अवस्थामा




काठमाडौं । अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टमा भारत बलियो स्थितिमा पुगेको छ । पहिलो पारीमा १५० रन मात्रै बनाएको भारतले दोस्रो पारीमा उत्कृष्ट ब्याटिङ गर्दै खेलमा पकड बनाएको हो ।
शनिबार दोस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारीमा विना विकेटको क्षतिमा १ सय ७२ रन बनाएको छ । यो अवस्थामा पाहुना टोली भारतले २ सय १८ रनको अग्रता बनाएको छ । उसको १० विकेट नै बाँकी रहेको छ । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल ९० रन र लोकेश राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ बल खेलेका यशस्वीले ७ चौका र २ छक्का प्रहार गरे । राहुलले १ सय ५३ बलमा ४ चौका प्रहार गरे ।
पर्थमा बिहीबार देखि सुरु भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सर्वाधिक ४१ रन बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले ४ विकेट लिए । भारतलाई १५० रनमा रोकेर पहिलो दिन नै आफ्नो पहिलो पारी थालेको घरेलु टोलिले पनि निकै खराब ब्याटिङ गर्यो । उसले पहिलो दिन नै ६७ रन बनाउन आफ्ना ७ विकेट गमाउन पुग्यो । दोस्रो दिन अस्ट्रेलियाको पहिलो पारी १०४ रनमा रोकियो ।
पहिलो पारीमा अस्ट्रेलियाका मिचेल स्टार्कले सार्वधिक २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह एक्लैले ५ विकेट लिएका थिए । हर्सित रानाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए ।