
सगरमाथा जलविद्युतले बोलायो साधारणसभा



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गते काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने कार्यलाई निरन्तरता दिने, हकप्रद वितरणपछि पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन भने गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ।
त्यसैगरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले गरेका निर्णय र काम कारवाही अनुमोदन गर्ने, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने, संस्थागत जमानी र सञ्चालक समितिको बैठक भत्ता तथा सेवा सुविधा सम्बन्धका प्रस्तावहरू पनि समावेश छन्।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोेजका आधारमा मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन्।

