
शेयर बजारमा निराशा: लगानीकर्ताको मनोबल कमजोर हुँदा गुम्दै लगानी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य घटेको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक ५.८० अंकले घटेर २५६०.२९ बिन्दुमा झरेको छ । यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
सेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहका परिसूचक बढेको छन् । बाँकी १० उपसमूहका परिसूचक घटेका छन् । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.६४ प्रतिशत बढेको हो। लगानी र व्यापार उपसमूहको परिसूचक भने आज सामान्य बढेको छ।
आज कारोबारमा आएको ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यसैगरी, आज सिटि होटलको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सबैभन्दा धेरै १० प्रतिशत घटेको छ।
आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट उच्च स्थानमा रहेको छ। यस कम्पनीको यस दिन ४८ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज यूनियन हाइड्रोपावरको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ ।


