
अस्पतालको भवनबाट गाउँपालिका सञ्चालन

काठमाडौं । सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ ।
कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए । उनका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो ।
अध्यक्ष यादवले भने, ‘पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भयो । हाल अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छौँ । गत वर्षदेखि निर्माण सुरु गरिएको नयाँ प्रशासकीय भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न दूर्त गतिमा काम गर्न लगाएका छौँ ।’


