
भगवती हाइड्रोपावरको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।
कम्पनीको उक्त साधारणसभाले गत आर्थिक वर्षको खुद तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गरेको थियो।
बोनस शेयर नेप्से र सीडीएससीमा सूचीकृत भएपछि शेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ। कम्पनीले ६ प्रतिशत नगद लाभांश भने कात्तिक १६ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा पठाएको हो।
कुनै शेयरधनीले डिम्याट खातामा अद्यावधिक नगरेको वा शेयर अभौतिकीकरण नगरेको भए यथाशीघ्र गर्न समेत कम्पनीले आग्रह गरेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरेकाले असोज २० गतेसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन्।


