
रिलायन्स स्पिनिङ मिल्स एक वर्षमा सवा १० अर्बको व्यापार गर्न सफल

काठमाडौं । गोल्यान समूहको रिलायन्स स्पिनिङ मिल्सको व्यापारमामा उल्लेखनीय सुधार आएको छ। गत आर्थिक वर्षमा यस कम्पनीले सवा १० अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको हो । कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब २३ करोड ९० लाख रुपैयाँको बराबरको व्यापार गरेको छ । यस कम्पनीले सन् २०२४ मा ९ अर्ब २० करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । यसैगरी, सन् २०२३ मा १० अर्ब ६० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब १० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको जारीकर्ता मूल्यांकन ‘केयर–एनपी ए (इीयुअर)’ क्रेडिट अनुगमन सूचीमा राखिएको छ । कम्पनीको दीर्घकालीन बैंक सुविधा ३ अर्ब ४५ करोड ७ लाख रुपैयाँमा ‘केयर–एनपी ए’ र अल्पकालीन बैंक सुविधा ५ अर्ब ५८ करोड रुपैयाँमा ‘केयर–एनपी ए२ं’ मूल्यांकन कायम गरिएको छ । यो कम्पनी सन् १९९४ मा स्थापना भएको हो । कम्पनीले कटन, पोलिस्टर भिस्कोस, एक्रिलिक/ब्लेन्डेड एन्ड पोलिस्टर टेक्चर्ड यार्न उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ५० हजार १ सय ६३ मेट्रिक टन धागो उत्पादन गर्दै आएको छ ।
रिलायन्स मिल्स नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेको छ । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने कम्पनीले जनाएको छ ।
सुरुवातमा यो कम्पनी ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको थियो । हाल यो कम्पनी हाल कुल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन्, जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् ।
कम्पनीले गत आवमा व्यापारमा सुधार आएको जनाएको छ । सन् २०२४ मा भने व्यापार घटेको थियो । कम्पनीले गत आवमा युनिट ए उद्योगको ७१ प्रतिशत र युनिट बी उद्योगको ६८ प्रतिशत क्षमता उपयोग गरेको थियो । कम्पनीले गत आवमा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । गत आवमा कम्पनीले ३५ हजार ३ सय ६९ मेट्रिक टन उत्पादित सामग्री बिक्री गरेको कम्पनीले सन् २०२४ मा ३२ हजार ६ सय ६७ मेट्रिक टन बिक्री गरेको थियो ।
कम्पनीकाअनुसार गत आवमा औसत प्रतिकेजी धागो २ सय ७२ केजी रुपैयाँमा बिक्री भएको छ । सन् २०२४ मा प्रतिकेजी २ सय ६५ रुपैयाँमा बिक्री गरेको थियो । यसैगरी, कम्पनीले गत आवमा ४.६६ प्रतिशत खुद नाफा कमाएको जनाएको छ । सन् २०२४ मा कम्पनीले ०.५६ प्रतिशत खुद नाफा कमाएको थियो ।
सन् २०२४ मा ५० करोड रुपैयाँ कुल नगद सञ्चय गरेको कम्पनीले गत आवमा ९६ करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चय गरेको जनाएको छ । कम्पनीले धागो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया र थाइलयान्डबाट आयात गर्दै आएको छ ।
गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको कम्पनीका अध्यक्ष पवन गोल्यान हुन् । कम्पनीका प्रबन्ध निर्देशकमा शशीकान्त अग्रवाल छन् । साथै, कम्पनीमा अर्का प्रबन्ध निर्देशक अक्षय गोल्यान छन् । युवा उद्यमी अक्षय गोल्यानको नेतृत्वमा रहेको रिलायन्स स्पिनिङ मिल्सले स्वदेशका साथै अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ ।


