
प्रतिकित्ता १०० रुपैयाँमै रिभर फल्स पावरको अवितरित शेयर लिलाममा, सबैले किन्न पाउने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी रहेको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित शेयर लिलाममा राखेको छ।
कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेर कम्पनीका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्था लगायत इच्छुक सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन अर्थात् सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
बोलपत्र कात्तिक २६ गतेदेखि मंसिर ३ गतेभित्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित बिक्री प्रबन्धक समेत रहेको प्रभु क्यापिटल लिमिटेडको कार्यालयका साथै प्रभु बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, हेटौंडा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।


