
छठपछि खुल्ने शेयर बजार के होला ? (रिसव गौतमको विचार)

रिसव गौतम :
नेपालीहरुको दोश्रो महान पर्व तिहार र नेपाल संवत सकिसकेको छ । अहिले छठ पर्व नेपालीहरुले मनाइरहेका छन् खासगरी तराइ क्षेत्रमा । केही दिनमा छठ पर्वको विदा समेत सकिनेछ र सबै आफ्नो आफनो काममा फर्किनेछन् । यो लामो विदामा शेयर बजार बन्द छ । तिहार अघि बजार बन्द हुँदा १६ अंकले बजार बढेर बन्द भएको थियो । खासगरी दशैं र तिहारबीच केही दिन बजार खुलेपनि सबै मान्छेहरुलाई चाडपर्वको रौनक थियो । बजार प्रति चासो नभएपछि त्यसबीच उल्लेख्य कारोबार भएन । बजार पनि जुन रुपमा बड्नुपर्ने आँकलन थिए, बढे्न किनकी लगानीकर्ताहरु चाडपर्वमा शेयर किन्ने भन्दा घुमघाम गर्ने, मिठो मसिनो खाने र रमाइलो गर्नका लागि खर्च गर्न मुडमा थिए । अब भने चार्डपर्व सकिँदै गर्दा बजारले कस्तो लय समात्ला भन्ने धेरैको चासो देखिन्छ । किनकी नयाँ आर्थिक बर्ष सुरु भएपछि कम्पनीहरुले अहिले धमाधम आफनो नाफाबाट लगानीकर्ताका लागि लाभाशं घोषणा गरिरहेका छन् । अघिल्ला बर्षहरुमा कोरोना महामारी र मन्दीका कारण लाभाशं दिन नसकेका कम्पनहिरुले यस बर्ष धेरै–थोरै जे सकिन्छ लाभाशं घोषणा गर्न थालेका छन् । हालसम्म विभिन्न बैंकहरु सहित ११० भन्दा बढी कम्पनीले लाभाशं घोषणा गरिसकेका छन् । त्यसमध्ये २५ ओटा कम्पनी नेप्सेमा सुचिकृत समेत छन् । नेप्सेमा सुचिकृत कम्पनीहरुले गर्ने लाभाशं घोषणाले शेयरको दोश्रो बजार कारोबारमा प्रभाव पार्ने नै हुन्छ । त्यस आलवा हालैको जेनजी आन्दोलन पछि बनेको सरकारले शेयर लगानीकर्ताको धेरै मागहरु पुरा गरिसकेको छ । अर्थमन्त्री रामेश्वर खानाल नै शेयर बजार प्रति संवेदनशील देखिए । फलस्वरुप अहिले शेयर बजारका नीतिगत बाधा, अड्चन हटेका छन् ।
शेयर बजारका बाधा अड्चन फुकाउन नयाँ गर्भनर डा.विश्वनाथ पौैडेलले शपथ खाएदेखि नै अग्रसरता लिएका हुन् । यद्यपी यसअघिका गर्भनर महाप्रसाद अधिकारीले आफनो आखिरी बर्षको मौद्रिक नीतिहरुमा केही खुकुलो बनाउन सुरु गरेरै विदा भएका हुन् । तर, उनै अधिकारी गर्भनर हुँदाको शेयर बजारमा विभिन्न नीतिगत अंकुश लगाइए । त्यसको भित्रि कारण वा रहस्य के थियो उनै जानुन् । तर त्यसरी अर्थतन्त्रको वाह्य प्रभाव न्युनिकरण गर्न शेयर बजारमाथी अधिक नियन्त्रण गर्नुपर्ने कारण सायद थिएन् ।
तर, नयाँ गर्भनर पौडेलले भने शेयर बजारलाई विना रोकतोक, विना अल्झ–उल्झन अघि बढ्न बाटो खोलिदिएका छन् । त्यसमा अर्थमन्त्री खनालको पनि भुमिका रह्यो । फलस्वरुप उनीहरु शेयर लगानीकर्ताहरुको धन्यवादको पात्र भएका छन् ।
नीतिगत बन्देजहरु फुकुवा भएसँगै शेयर लागानीकर्ताहरुको सरकारसँगको गुनासा मथ्थर भएका छन् । उनीहरुले राखेका डेढ दर्जन बढी मागहरुमध्ये धेरै त पुरा भएका छन् । मुलत शेयर बजारलाई अन्र्तराष्ट्रिय स्तरको बनाउने, बजारको दायरा विस्तार गर्ने र नेप्सेकोे पुर्नरसंरचना गर्ने लगायत कुराहरुलाई सम्बोेधन गरेर अघि बढ्ने कुराहरु छन् । पुँजी बजारको क्षेत्रलाई विकसित र भब्य बनाउँदै लैजाने कुरा भविष्यका हुन् । जसमा आम लगानीकर्ताहरुको पनि, नयाँ आउने सरकारको पनि र ब्यवसायिक जगतको पनि उत्तिकै भुमिका हुनसक्छन् ।
जेन–जी आन्दोलनपछि बनेको नयाँ नागरिक सरकारले पुँजीबजार सुधार सुझाव कार्यदल बनाएको थियो । अर्थक्षेत्रका वीज्ञ अर्थमन्त्री रामेश्वर खनालले बनाएको कार्यदलले दिएको सुझावहरु अनुसार नै राष्ट्र बैंकले बैंकहरुलाई अहिले नयाँ निर्देशन जारी हो । बैंकहरुले ब्यक्तिलाई दिने शेयर धितो कर्जाको २५ करोडको सिमा हटाइएको छ । कार्यदलले गरेको सुझाव अनुसार राष्ट्र बैंकले त्यस सिमा हटाएको हो । त्यसैगरी बैंकहरुलाई सेयर विक्रिमा पनि राष्ट्र बैंकले सहजीकरण गरेको छ । बैंकहरुले सेयर खरिद गरेको एक बर्ष पुगेका लगानीमध्येबाट एक आर्थिक बर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानीमा विक्रि गर्नसक्ने ब्यवस्था समेत हटाएको छ । जुन पुँजी बजार सुधार सुझाव कार्यदलकै सुझाव अनुसार हटाइएको हो । अब ६ महिनाभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने छन् । यसरी अहिले राष्ट्र बैंकले अघिल्लो गर्भनरको पालाका तमाम खालका नीतिगत बन्देज र कडाइ हटाइ सकेको छ । शेयर बजारलाई बाटो खुल्ला गरिएको छ ।
खुल्ला नीति बजारको अग्रगामी बाटो
नेपालले बि.स २०४८/०४९ सालबाटै खुल्ला बजार अर्थनीति (उदारीकरण ) लाई अगिंकार गरेपनि धेरै कुराहरु अहिले पनि त्यस्तो छैनन् । खुल्ला प्रतिस्पर्धा, प्रभावकारी व्यवसायिक वातावरण, शान्ति सुरक्षा र सवल आर्थिक नीतिहरु कुनैपनि देशको विकासको खातिर महत्वपुर्ण सर्त हुन् । हाम्रै छिमेकी चीनले माओत्सेतुङको नेतृत्वमा साँस्कृतिक क्रान्ति गरेपनि उनको नेतृत्वमा आर्थिक विकास भने हुन सकेन । सन् १९७८ पछि चीनमा देङस्याओ पिङले क्रमश खुल्ला बजार अर्थनीति लिएपछि चीनमा आर्थिक विकासको प्रारम्भ भएको हो । सन् २००० मा आइसकेपछि चीनले विश्व व्यापार संगठनको सदस्यता लियो र बजारलाई थप खुल्ला र लचिलो बनायो । फलस्वरुप आजको चीन विश्वमै दोश्रो ठुलो अर्थतन्त्र भइसकेको छ ।
आज कुनैवेलाको घनघोर कम्युनिष्ट देश चीन पश्चिमा उदार प्रजातन्त्र भएका, नवउदारवादी देशहरुको समेत लगानीको सबैभन्दा रोजाइको देश बनिरहेको छ । चीनले विगत ४ दशकमा सारा जनसंख्यालाई गरिवीबाट मुक्त गरेको छ । देशलाई अमेरिका पछिको सबैभन्दा धनी अर्थात १९ टिलियन डलरको जिडीपी बनाएको छ । सन् २०२५ मा आइपुग्दा चीनको शेयर बजारमा मार्केट क्यापिटलाइजेशन ११ ट्रिलियन डलर भन्दा बढी छ । यो सब खुल्ला बजार अर्थतन्त्र र बन्देज रहीत प्रतिस्पर्धी नीतिको परिणाम हो । चिनियाँहरुले आफुले अंगिकार गरेको आर्थिक नीतिलाई चिनियाँ मोडलको समाजवाद भनेपनि उनीहरुले देश विकास गर्ने हतियार पुँजीवाद अर्थात खुल्ला बजार नै बनाएका छन् । फलस्वरुप विश्व बजारमा आफनो उत्पादन बेच्न, व्यवसाय र लगानी बढाउन पुँजीवादका सबै उपकरणहरुसँग उनी जोडिएका छन् । फलत अहिले पुरा विश्वमा चिनको मालवस्तुको हिस्सा १३ प्रतिशत भन्दा ज्यादा एक्लैको छ भनिन्छ ।
तर, नेपालमा चीनकै कुनै बेलाका सर्वोच्च नेता मोओको विचारधारा अंगालेर जनयुद्ध समेत भयो । त्यसपछि माओकै विचाराधारालाई अंगालेको नेकपा माओवादीले पनि ०६५ सालमा छोटो अवधि बहुमतसिद्ध सरकार चलाएको हो । त्यसयता पनि माओवादीले बारम्बार गठबन्धन सरकारमा रहेको छ । तर, उसले पनि चीन र त्यस देशले अंगालेको आर्थिक नीति र कुटनीतिबाट शिक्षा लिने प्रयास गरेन । देशका काँग्रेस, एमाले र माओवादी जस्ता ठुला पार्टी आपसी रुपमा जुध्दा, एकले अर्कालाई एक्ल्याउने, सिध्याउने तथा खुद्रा मसिना कुराहरुमा मात्र अल्झने गर्दाको परिणाम देशले दु्रत विकासको गती नै समाउन सकेको छैन । नेताहरुको पुरानै शैली, ब्याप्त भष्ट्राचार, झै–झगडा आदीले गर्दा देशमा केही गर्ने वातावरण बनेन् । न वैदेशिक लगानी भित्रियो, न त स्वदेशी लगानीकर्ताहरुको मनोबल उठ्यो । त्यो नभएपनि उद्योग, कलकारखाना भएनन् । बरु भएका पनि मासिए । फलस्वरुप भएभरका युवाहरु विदेशीए । स्वदेशमा भएकाहरु पनि भष्ट्र राजनीतिबाट आजित भएपछि अहिले आन्दोलन र विद्रोह गर्ने मोडमा पुगे । देश बनेन । देशमा शुन्यता छायो । यस्तैमा अहिले जेन–जी आन्दोलनले पुराना भ्रष्ट्र नेता तथा दलहरुलाई पाखा लगाएपछि अन्तरिम सरकार बनेको छ । नयाँ अर्थमन्त्रीले पुँजीबजार सुधार कार्यदल बनाएर सुझाब प्रतिबेदन मागेका थिए । कार्यदलले शेयर बजारको बाधा बन्देज फुकाउनु पर्ने खालको प्रतिबेदन बुझायो । फलस्वरुप बजारले खुल्ला हुने अवसर पाएको छ । बाधा, बन्देज हटेका छन् । भोलीका दिनहरुमा अझै बढी सुधार हुने बाटो खुलेको छ ।
वास्तम्बमा शेयर बजार अर्थतन्त्रको ऐना नै हो । हरेक देशमा त्यहाँको आर्थिक अवस्था, लगानीको अवस्था, व्यवसायिक अवस्थाको मुल्यांकन गर्ने पहिलो आधार शेयर बजारको दृश्य हो । शेयर बजार उकालो लागेको वा कारोबारको स्तर बढीरहेको बजारले लगानीकर्ताहरुलाई जहिल्यै स्वागत गरिरहेको हुन्छ । त्यसैगरी शेयर बजारमा जाने पहिरोले निराशा र लगानी निरुत्साहित बाहेक केही गर्दैन । त्यसकारण नेपालको शेयर बजारलाई आशाप्रद बनाउन सरकारले मिहिनत गर्नुपर्ने छ । किनकी हाम्रो शेयर बजार हेरेर विदेशी लगानीहरु आउन सक्छन् । हाम्रो आर्थिक अवस्थाको मुल्याकन हुनसक्छ । जसकारण विदेशीले हामीलाई ऋण पत्याउन सक्छन् । स्वदेशमै पनि शेयर बजार राम्रो अवस्था हुँदा व्यवसायीक क्षेत्रमा उत्साह थपिन सक्छ । नयाँ उद्यमहरु सञ्चालन गर्न खोज्नेहरुको मनोबल बढ्न सक्छ । बजारमा कारोबार बढ्दा लगानीकर्ताहरुको आफनो अतिरिक्त आम्दानीको उत्साहमा खरिद क्षमता बढ्छ । जसकारण उपभोक्ता वस्तुहरुले बजार पाउँछन् । अर्थतन्त्र गतिशिल हुन्छ । त्यसकारण शेयर बजार उठाउन जरुरी छ ।
अन्त्यमा, नीतिगत हिसावले अब शेयर बजारका समस्याहरु हटेका छन् । नेपालीहरुले अधिक खर्च गर्ने महत्वपुर्ण चाड बाडहरु दशैं, तिहार, नेपाल संवत र छठ सिद्धिदै छ । अब केही दिनपछि खुल्ने बजारले पक्कै पनि राष्ट बैंकको नयाँ नीति निर्देशन, लाभांश घोषणामा कम्पनीहरुले देखाएका शुभ संकेत, सडक आन्दोलनहरु मथ्थर हुँदै जानु र चुनावी वातावरणमा देश अघि बढ्नुले बजारले सकारात्मक लय समाप्ने निश्चित छ । फेरी राजनीतिक अस्थिरता छ, के बढ्ला र बजार ? भनेर सोच्नेहरु पनि होलान् । तर बुझनु पर्छ राजनीतिको चरित्र नै अस्थिर हुन्छ । त्यो विश्वव्यापी नै हो । जस्तो एसियाकै जापान, थाइल्याण लगायत देशमा छिटो छिटो सरकार परिवर्तन हुँदापनि त्यहाँको आर्थिक वृद्धि र विकासमा कुनै असर परेको देखिदैन । नेपालमा पनि अव त्यही नियम लागु हुन्छ । यहाँ पनि विस्तारै चुनाव होला । तोकिएकै समयमा नभए केही समय पछि होला । हिजो जे भयो राम्रोको लागि भयो । भष्ट्राचारको जरा उखेल्नका लागि भयो । प्रजातन्त्रमा पनि उदाएको निरंकुश शासक फाल्नका लागी आन्दोलन भए । त्यसकारण त्यो राम्रोको लागि भयो । अब अच्छा दिन आने वाला हे । हामीले त्यसरी सोच्नुपर्छ । अबको युग भनेको प्रविधि र पारदर्शिताको हो । यो युगमा कसैको सामन्तपन, दासत्व, भष्टाचार, वेइमानी नयाँ पुस्ताले स्वीकार गर्दैन । त्यसकारण आन्दोलन भयो । यसले खासगरी शेयर बजारलाई राम्रो गर्नेछ । किनकी पारदर्शिताको सुरुवात र भष्ट्रचार अन्त्य हुँदा ने नेपालको अर्थतन्त्र सही लयमा जानेछ । विदेशी लगानी भित्रनेछ । देशले नै सकारात्मक लय समात्नेछ । बजारले आगामी दिनहरुमा एउटा स्वरुप ग्रहण गर्नेछ ।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)


