


मर्चेन्ट बैंकिङ एसोसिएसन नेपालको १६औं वार्षिक साधारणसभा सम्पन्न




काठमाडौं । मर्चेन्ट बैंकिङ एसोसिएसन नेपालले आफ्नो १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो । यही असोज २ गते काठमाडौंको अल्फट होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा एमबीएएनका सबै मर्चेन्ट बैंकिङ संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को एमबीएएनका गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ । एमबीएएनले नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रबर्द्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।
नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोसिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।