


नेप्से परिसूचकमा १ सय ११ अंकको वृद्धि, पुनर्बीमा हुँदा-हुँदै निर्जीवन बीमाका लगानीकर्ता हच्किए




काठमाडौं । सातामा सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक बढ्न पुगेको छ । त्यस्तो सूचकमा १ सय ११ अंकको वृद्धि देखिएको हो ।
जेन्जी आन्दोलनले एक साता बढी बन्द रहेर गत साता बिहीबार खुलेको बजार २० मिनेटमै नकारात्मक सर्किटका कारण बन्द हुन पुगेको थियो । त्यसपछि अर्थमन्त्री लगायत लगानीकर्ताहरुले ठूलो चासो देखाए ।
आज मात्रै लगानीकर्ताहरुका नेताहरु गभर्नर कार्यालय समक्ष आफ्ना ६ बुँदाका माग बोकेर पुगेका थिए । आज भने बजारले एकाएक सकारात्मक संकेत दिएको छ ।
नेप्से परिसूचक २६ सय २३ अंकमा पुगेको बेलामा सेयर बजारमा ९ अर्ब १७ करोड रुपैयाँको कारोबार हुन पुगेको छ । सोही दिन २ सय २४ कम्पनीको मूल्य बढ्दा २८ को घटेको देखिन्छ।
आइतबारको सेयर बजारको सूचक अनुसार व्यापार समूह ८.६६ प्रतिशतले बैंकिङ ४.५२ प्रतिशतले, विकास बैंक ६.०७ प्रतिशतले, फाइनान्स ५.५४ प्रतिशतले, होटल तथा पर्यटन २.३३ प्रतिशतले, हाइड्रोपावर ५.८३ प्रतिशतले, लगानी ७.६८ प्रतिशतले, जीवन बीमा ५.६६ प्रतिशतले, उत्पादन तथा प्रशोधन ४.८५ प्रतिशतले, माइक्रोफाइनान्स ३.६९ तथा अन्य समूह १.५३ प्रतिशत उचालिएका छन्।
सोही दिन आफ्ना सबै जोखिमको पुनर्बीमा हुने भए पनि निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताहरुको मननेबल केही खस्किएको देखिन्छ ।
बास्केट फण्डको सिद्धान्तले बाढिन्छ जोखिम :
कुनै पनि कम्पनीले सबै जोखिम एउटै बास्केटमा राख्दैनन् । त्यसलाई विभिन्न देश र विभिन्न कम्पनीमा विभाजन गरि छरिएको समेत हुन्छ ।
कुनै पनि बीमा कम्पनीहरुले आफ्नो पोल्टामा मात्रै सबै जोखिम राख्दैनन् । किनभने, उनीहरुलाई त जोखिम वा भवितव्य जहिल्यै आउन सक्छ भने ज्ञान पहिल्यै छ । सोही कारण पछिल्लो समय बजारमा चलेका निर्जीवन बीमा कम्पनीहरुको हल्ला, दाबी भुक्तानीमा हुन सक्ने ढिला सुस्तीका भ्रमले समेत सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको बुझ्न सकिन्छ । किनभने नेपाली सेयर बजार अझै पनि हल्लाको भरबाट प्रभावित हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण समेत साबित हुनसक्छ ।