

पूर्वउपप्रधान एवं अर्थमन्त्री पौडेलद्धारा क्षमायाचना




काठमाडौं । संविधान दिवसको अवसर पारेर नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ति, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका हुन्।
उनै पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको सुनाए।
त्यस्तै, पौडेलले दिएको सन्देशमा भनेका छन् ‘जेन्जी आन्दोलनका शहीदहरुप्रति श्रद्घाञ्जली र शोकाकुल परिवारजन तथा आफन्तहरुमा समवेदना ब्यक्त गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
यता, उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्री परिषदबाट शान्ति र अमनचयन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने, जेन्जी आन्दोलका क्रममा तोडफोड र आगजनी भएका सार्वजनिक र निजी क्षेत्रका संरचनाहरुको पुननिर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन गर्ने जस्ता महत्वपूर्ण अभिभारा पुराहुन सकुन् भन्ने अपेक्षा गरेका छन् । जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानवीन गर्न, दोषिहरुलाई कानुन बमोजिम कार्वाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजि संरचनाहरुको यथाशीघ्र पुननिर्माण गर्न सरकारसंग माँग गरेका छन् ।
साथै, जनताको, विशेषगरी युवा पुस्ताको आकाँक्षा, असन्तुष्टि र आक्रोसलाई बुझ्न र सम्वोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवाप्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मूख्य कारणहरु रहेको जनाएका छन् । आन्दोलनका क्रममा भएको हत्या–हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय रहेको उनले जनाएका छन् । विगतमा नेकपा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गंभीर समिक्षा हुने जनाएका छन् । ‘पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ति, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु’ जारी विज्ञप्तिमा भनिएको अवस्था देखिन्छ।
‘अब हाम्रो सामु जनतासंग, विशेषगरी नयाँ पुस्तासंग एकाकार भएको, नीति निर्माण र नेतृत्व निर्माणमा युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको छ । तदनुरुप पार्टीको संगठन, कार्यशैली र आचरणमा परिवर्तन हुने विश्वास ब्यक्त गर्दछु’ विज्ञप्तिमा भनिएको छ, ‘आज असौज ३ गते, संविधान दिवसको ऐतिहासिक दिन । विगतका अनुभवबाट शिक्षा लिँदै संविधानको रक्षा, प्रयोग र विकासका लागि सम्पूर्ण नेपालीले योगदान दिन सकौं । आपसी सद्भाव र एकताका साथ विकास, समृद्धि र सामाजिक न्यायको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सकौं । सबैमा संविधान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’