

गुण नियन्त्रण कार्यालय हेटौंडाले हाल्यो गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने ४ व्यवसायीलाई मुद्दा




बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयहरुबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा चार जना व्यवसायीविरुद्ध दायर गरिएको हो ।
कार्यालय प्रमुख बिमला पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा सङ्कलित नमुनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका तीन र सिन्धुलीका एक व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई, जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक र मकवानपुर जिल्ला अदालतमा एक जनाविरुद्ध मुद्दा दायर गरिएको प्रमुख पोखरेलले बताए ।
अनुगमनका क्रममा सङ्कलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गरेका, म्याद गुज्रेको समान बिक्री गरेका व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो । विभिन्न उद्योगबाट संकलित दुई हजार ८२ नमूना परीक्षण गरिएको प्रमुख पोखरेलले बताए ।
सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका ९ लाख ९५ हजार रूपैयाँ बराबरको वस्तु जफत गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको थियो ।