

जेन–जी सरकारः शेयर बजारमा नयाँ बिहानी ल्याउने खुड्किलो




पाठकबृन्द, सुरुमै निवेदन गर्छु कि यसले पनि आफु जेन–जी भएको हिसावले सरकारको सर्मथन गर्यो नभन्नु होला । किनकी म पनि जेन्जी उमेर समुह भन्दा केही बर्ष पाको हुँ । र, दलीय हिसावले कुनै दलको झोला बोकेर हिँडेको ब्यक्ति होइन् । बिषय हो शेयर बजारको । शेयर बजारले जेन–जी आन्दोलनद्धारा निर्मित नयाँ सरकारलाई कस्तो प्रतिक्रिया जनाउला ? भन्ने आम चासो देखिन्छ । जेनजी आन्दोलनका कारण आर्थिक रुपमा मुलुकले ठुलो क्षती ब्यहोरेकोले धेरैलाई बजारमा नकारात्मक असर पर्ला भन्ने नै लागेको हुनसक्छ । हुन पनि हो, क्षती धेरै भएको छ । खासगरी सरकारी सम्पतिमा धेरै खती भएको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटले सरकारी धेरै कार्यालयहरु नाकाम भएका छन् ।
नीजि क्षेत्रमा पनि २ खर्ब बढीको नोक्सानी भएको प्रारम्भीक अनुमान छ भने सरकारीतर्फ त्यसको ७–८ गुणा बढी क्षती भएको हुनसक्ने आर्थिक क्षेत्रका विद्धतहरुको भनाइ छन् । भलै क्षतीको यकिन तथ्यांक सरकारी तर्फबाट आइसकेको छैन । खासगरी यसपटकको आन्दोलनको क्षती सरकारी संघ–संस्थाहरुमा नै धेरैजसो भएकोले पनि शेयर बजारमा सुचिकृत कम्पनीहरुमा त्यसको असर कम पर्न सक्छ । अर्को सरकारी भवन तथा कार्यालयहरुको बिमा नभएकाले पनि इन्स्योरेन्स कम्पनीहरुमा सोचेजस्तो धेरै असर छैन । अर्को बिमा कम्पनीहरुको पनि पुर्नरबिमा हुने भएकोले शेयर बजारको बिमा क्षेत्रमा त्यस्तो धेरै असर नपार्ला । बरु यस पटकको जेनजी आन्दोलनले भष्ट्राचारको युगलाई अन्त्य गर्न खोजेको छ । यदी अहिलेकै शुसिला कार्की नेतृत्वको नागरिक सरकारले ०४७ साल यता सरकार र शक्तिमा रहेकाहरुको भष्ट्राचार छानबीन गर्न उच्चस्तरीय आयोग बन्ने हो भने धेरैको भागाभाग हुनसक्छ । त्यो खालको ‘म्यान्डेट’ कार्की नेतृत्वको सरकारलाई नै छ । किनकी जेन–जी आन्दोलनको मुल मुद्धा भष्ट्राचार छानबीन नै हो । त्यसैका लागि भएको आन्दोलनमा कम्तिमा ७४ जनाले शाहदत प्राप्त गरेका छन् । यदी सरकारले तुरुन्त भष्ट्राचार छानबीन आयोग बनाएर २–३ महिनामा प्रतिबेदन सार्वजनिक गर्ने हो भने त्यसले बृहत नतिजा दिनेछ । एक त त्यसले राजनीति संग्लीने आधार तय गर्नेछ । फलस्वरुप त्यसको साकारात्मक प्रभाव शेयर बजारमा पर्छ । आयोग बन्ने वित्तिकै धेरै त भाग्ने सुरसारमा हुनेछन् चुनाब लड्ने कुरा त परको भयो । त्यसरी पुराना भ्रष्ट नेताहरु शक्तामा पुग्ने आधार सक्किँदा पनि नयाँहरुले अवसर पाउनेछन् । त्यसले नै शेयर बजारको मनोबल बढाउने छ । अर्को भष्ट्राचारको उचित छानबीन भएर उनीहरुले कुम्ल्याएका अकुत सम्पति राज्यको निगाहामा आउने वातावरण बन्छ । निश्चित रुपमा अरबौं, खरबौंको भष्ट्राचार जनित सम्पती सरकारको हातमा आउने बातावरण बन्छ । जसले गर्दा आर्थिक रुपमा सरकार बलियो बन्छ । कार्की नेतृत्वको नयाँ सरकारले आउँदो फागुन २१ गते गर्न लागेको चुनाबमा पुराना भष्ट्र नेताहरु नआउने वातावरण बन्यो भने नै देशले जित्छ । भष्ट्र नेताहरुको कारण जकडिएको अर्थतन्त्रले निकास पाउँछ । अर्थतन्त्रले सम्भावनाको राजमार्ग समात्यो भने निश्चित रुपमा शेयर बजारले बु्रर्कुसी मानेछ । दलालहरुको घेराबाट गरिखाने स्मार्ट युवाहरुको नेतृत्वमा अर्थतन्त्र पुग्दा नेपाली शेयर बजारले नयाँ बाटो तय गर्नेछ ।
खासगरी विगत केही बर्षदेखि शेयर बजार करिव निदाएको छ । थलै परेको त छैन । धिमा गतिमा छ । तर जुन उचाइ पहिल्यै हासिल गरेको हो, त्यो समेत जोगाउन नसकेको अवस्था छ । तर अब नयाँ सरकारले तोकिएको ६ महिनामै चुनाब मात्रै गर्न सक्ने हो भने त्यसले धेरै सकारात्मक अवस्थाको उज्जागर गर्नेछ । साथसाथै सरकारले यसबीच पुराना पार्टीहरु र त्यसका कार्यकर्ताहरुको दलालीको जालो तोड्न सक्नुपर्छ । दलालहरुलाई यो ६ महिनाबीच सरकारको छेउछाउ पर्न दिनु हुदैन । उच्चस्तरीय भष्ट्राचार छानबीन आयोग बन्नैपर्छ । त्यसले नै राजनीतिका, प्रशासनका साधु र डाँकु छुट्याउने अडिट गर्नेछ । जसले राजनीतिका डाँकुहरुलाई चुनाब लड्नबाट बञ्चित गर्नेछ । यसबीच पुजीँगत खर्च पनि बढाइनु पर्छ । जति रकम छुट्याइएको छ, त्यो रकम बेलैमा नियमपुर्बक विकासको काममा खर्च गरिनु पर्छ । फलस्वरुप अर्थतन्त्र गतिशिल बन्नेछ । त्यसमाथी आगामी ६ महिनामा सरकारले नै चुनाव मार्फत कम्तिमा १ खर्ब र विदेशीहरुको सहयोग समेत आउने कारण बजार चलायमान बन्नेछ । बजार चलायमान हुँदा बैंकहरुको नाफा, विभिन्न कम्पनीहरुको नाफा बढ्नेछ । अनि त शेयर बजार त्यसै पनि उकालो लाग्नेछ । त्यसकारण नयाँ सरकारले हेरेक चुनौतीको सामाना गरेर उदेश्यमा सफल भएर देखाउन सक्नुपर्छ । त्यसमाथी पुर्बअर्थसचिव रामेश्वर खनाल जस्तो काबिल अर्थवीद अहिलेको सरकारकोे अर्थमन्त्री हुनुहुन्छ । उहाँ शेयर बजार प्रति अत्यन्त सुभचिन्तक ब्यक्तित्व हुनुहुन्छ । खासगरी शेयर बजारले राजनीतिक रुपमा राम्रो हुने अवस्थाको पनि खोजी गर्दछ । जसरी अहिले भष्ट्र पार्टी र तिनको नेताहरुको विकल्प देशले खोजी रहेको छ । फलस्वरुप पनि शेयर बजारको नयाँ विहानी सुरु हुने अपेक्षा गर्न सकिन्छ । यदी देश भष्ट्राचारमुक्त, शुसासन र रोजगारीले सुसज्जीत हुन्थ्यो भने सम्बृद्धि टाढाको विषय हुन्नथ्यो । किनकी हाम्रै छिमेकी देश चिनले शुसासन, भष्«टाचारमा शुन्य शहनशिलता र विकास निर्माण मार्फत सम्बृद्धिको उचाइ बनाएको छ । त्यो पनि ३ दशक भित्रै । त्यसकारण शेयर बजार र मुलुकको सम्बृद्धिको लागि शुसासन र भष्ट्राचारको अन्त्य नै पहिलो सर्त हो । त्यसको लागि नेपाली जनताले अबको चुनाबमा पढेलेखेका, सामाजिक मुल्य मान्यता बोकेका नैतिकवान युवाहरु रोज्नुपर्छ र देशलाई भष्टाचारमुक्त बनाउने दिशामा आफनो तर्फबाट भुमिका खेल्नुपर्छ । त्यसो गर्न सकएन भने न शेयर बजार उभो लाग्छ, न देश ।
पछिल्लो समय अनेक कोशिस गर्दा पनि शेयर बजार उभो लाग्न सकेको छैन । शेयर बजार लगानीकताहरुले राखेका १७ वटा मागहरुमध्ये धेरै जसो पछिल्लो मौद्रिक नीतिसम्म आइपुगग्दा पुरा भए । तरपनि शेयर बजार बढेको छैन । शेयर लगानीकर्ताकै मनोबल बढ्न सकेको छैन । त्यसमा अस्थिरता, परम्परागत कार्यकर्ता बेस राजनीति र दलालीकरण, भष्ट्राचारको जन्जालमा नीजि क्षेत्र देखि सरकारी संस्थाहरु पनि पर्नु, विकास निर्माणका कामहरु थन्किँनुले देशको अर्थतन्त्र उभो लाग्नै सकेन । सरकारले राम्रोसँग विकासको काम अघि बढाउन नसक्दा नीजि क्षेत्रलाई पनि लगानीको वातावरण बन्न सकेन । त्यसकारण राजनीति नसंग्लिँदासम्म अर्थतन्त्र र शेयरबजार प्रभावित नै हुने अवस्था थियो । त्यो अवस्था जेज–नी पुस्ताको आन्दोलनले भत्काएको छ । अबको चुनाबले सही मान्छेलाई चुनिने अवसर दियो भने देशले नयाँ दिशा लिनेछ । बैंकहरुमा थुप्रिएको तरलता क्रमश नयाँ वातावरणमा लगानीको क्षेत्रमा प्रवाहित हुनेछ । रोजगारीको अवसर बढ्नेछन् । सरकारी तथा नीजि संघ सस्थाहरु बलिया हुँदै जानेछन् र शेयर बजारले उचाइ भर्दै जानेछ । त्यसकारण जेनजी निर्मित सरकारले शेयर बजार बढ्ने ढोका खोलेको छ । दलाल र भष्टाचारीहरुलाई बढारेको छ ।
( रिसव गौतम : आर्थिक लेखक तथा विश्लेषक )