

लागत–प्रतिफल मूल्याङ्कन नगरी बैंकमा परियोजना थपिँदा समस्या बढेको अर्थमन्त्री पौडेलको टिप्पणी




काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाबद्ध विकासलाई सार्थक बनाउन विकासका आवश्यकताअनुसार स्रोत परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्व योजनाकारमञ्च नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा उनले मुलुकको विकासका लागि स्रोत व्यवस्थापनलाई आवश्यकता र प्राथमिकतासँग जोड्नुपर्ने बताए ।
उनका अनुसार पाँच दशक लामो योजनाबद्ध विकास यात्रामा अपेक्षाअनुसार काम र स्रोत व्यवस्थापन हुन नसक्नु प्रमुख चुनौती हो । ‘योजना निर्माण र बजेट विनियोजनलाई जोड्न सकेका छौँ कि छैनौँ भनेर गम्भीर समीक्षा गर्नुपर्छ’ उनले भने, ‘योजना निर्माण गर्दा प्राथमिकतामा ध्यान दिनुपर्छ ।’
अर्थमन्त्री पौडेलले योजनाको लागत र प्रतिफल मूल्याङ्कन नगरी योजना बैंकमा योजना समावेश गर्ने परिपाटीले समस्या सिर्जना गरेको उल्लेख गरे । उनका अनुसार अहिले स्थिर र शक्तिशाली सरकार रहेको अवस्थामा योजनालाई आवश्यकता र स्रोत व्यवस्थापनसँग जोडेर परिस्थिति सापेक्ष बजेट विनियोजन गर्न सकिने अवसर छ ।
सो अवसरमा उनले तीन करोड भन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने निर्णय कार्यान्वयन गर्न ठूलो चुनौती व्यहोर्नुपरेको पनि बताए ।
यसैगरी अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन अनौपचारिक अर्थतन्त्रको प्रभाव दायरालाई ध्यानमा राखेर नीति बनाउनुपर्ने स्पष्ट पारे ।