

एक वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स




काठमाडौ । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ भित्रिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
गत वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो । असार मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ जना रहेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ जना र २ लाख ८१ हजार १९५ जना रहेको छ ।