

गाउँमै गुणस्तरीय शिक्षा: श्रीवास्तवको समर्पणले फेरि दिलायो १००% सफलता




(पूर्ण छात्रवृत्ति त्यागेर गाउँको सरकारी विद्यालय रोज्ने शिक्षकको प्रतिबद्धता, विद्यार्थीको उज्ज्वल भविष्यप्रति समर्पण) कपिलवस्तु, बुद्धभुमि नगरपालिका – श्री भृकुटी माध्यमिक विद्यालय, बुद्धभुमि नगरपालिका–४, बुड्ढी कपिलवस्तुका कक्षा १२ का जीव विज्ञान (Biology) विषयका विद्यार्थीले यस वर्षको परीक्षामा पनि शत–प्रतिशत (१००%) सफलता हासिल गरेका छन्। विद्यालयका बाली विज्ञान शिक्षक अंकुश कुमार श्रीवास्तवको यो चौथो पटकको निरन्तर उपलब्धि हो।
विगत छ वर्षदेखि +२ तहमा बाली विज्ञान संकाय तर्फ जीवविज्ञान विषय अध्यापन गर्दै आएका श्रीवास्तव घरदेखि करिब ३५ किलोमिटर टाढा रहेको यस गाउँको सरकारी विद्यालयमा नियमित मोटरसाइकलमार्फत पुगेर पढाउने गर्छन्। यस अवधिमा उनले चार पटक कक्षा १२ मा शतप्रतिशत नतिजा दिलाउनुका साथै, माध्यमिक शिक्षा परीक्षा (SEE) तहमा पनि विज्ञान विषयमा समेत समान सफलता दिलाएका छन्। श्रीवास्तवले बायोटेक्नोलोजी बिषयमा साउथ एसियन युनिभर्सिटी, दिल्ली (SAARC देशहरूको साझा विश्वविद्यालय) मा प्राप्त पूर्ण छात्रवृत्ति (Full Scholarship) त्यागेर शिक्षण पेशा रोजेका हुन्।
उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ निरन्तर परिश्रम गर्दै आएका छन्। “राम्रो नतिजा मेहनत, अनुशासन र उत्तरदायित्वको प्रतिफल हो,” श्रीवास्तवले भने, “विद्यार्थीको भविष्य उज्यालो बनाउन म आफ्नो पेशागत प्रतिबद्धतामा कहिल्यै सम्झौता गर्दिन।” स्थानीय समुदायका अनुसार, उनका निरन्तरका उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार भएको छ र उनले प्रेरणादायी शिक्षकको पहिचान पाएका छन्।