

अपि पावर ३२.२४ प्रतिशतले आम्दानी बढाउन सफल




काठमाडौं । नेपाली जलविद्युत क्षेत्रमा आफ्नो छुट्टै विरासत कायम गर्न सफल अपि पावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। सोही कम्पनीको उक्त वित्तीय विवरणलाई आधार मान्दा विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो।
यता, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.९३ प्रतिशत घटेको छ भने वित्तीय खर्च १७.८६ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७४ पैसा घटेर ७ रुपैयाँ ४ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०४ गुणा रहेको छ।
साथै, ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६७ करोड २७ लाख रुपैयाँ रहेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।