

चिलिमे हाइड्रोपावरले कमायो ६७ करोड ९५ लाख नाफा




काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा यस कम्पनीले ६७ करोड ९५ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३.६१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ६८ करोड ५२ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । जसको कारण नाफामा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १२ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८१ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले १ अर्ब ११ करोड ५९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
यस अवधिमा कम्पनीको कुल नाफा १.४४ प्रतिशतले बढेर ८५ करोड ८५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिसम्म आउँदा सञ्चालन मुनाफा ३.६१ प्रतिशतले बढेर ७१ करोड ११ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष यस कम्पनीको सञ्चालन नाफा ६८ करोड ५२ लाख ६० हजार रुपैयाँ थियो ।
यस कम्पनीको वित्तीय आम्दानी भने १६.७० प्रतिशत घटेर १३ करोड ४० लाख २३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी १६ करोड ८ लाख ९७ करोड रुपैयाँ थियो । नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७६ पैसा घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६०.७ गुणा रहेको छ। गत आवको चौथो त्रैमाससम्म ८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।