

के हो पूनर्बीमा ? जान्नु होस् यस्ता छन् महत्व !




काठमाडौं । पूनर्बीमा (रि-इन्स्योरेन्स) को नाम हामी धेरै जनाले सुन्दै आए पनि अधिकांशलाई यसको बारेमा थाहाँ नभएको पाइन्छ । तर, प्रत्यक्ष–अप्रत्यक्ष रुपमा हामीसँग पूनर्बीमाको महत्व जोडिने गर्छ ।
हामीले जुनसुकै कम्पनीमा बीमा गरे पनि त्यस्ता बीमाको फेरी बीमा हुने गर्छ । हामीले बीमा गरेको जोखिमलाई अर्को बीमा कम्पनसँग फेरि बीमा गरिन्छ भने त्यसलाई पूनर्बीमा (रि- इन्स्योरेन्स) भनिन्छ ।
हाल नेपालमा दुई वटा पूनर्बीमा कम्पनीहरु संचालनमा रहेका छन् । सरकारी लगानीमा नेपाल पूनर्बीमा कम्पनी नेपालको जेठो पूनर्बीमा कम्पनीको रुपमा स्थापित छ । त्यस्तै, निजी क्षेत्रको लगानीमा केही वर्ष अघिबाट संचालनमा आएको हिमालयन रि-इन्स्योरेन्स कम्पनी पनि संचालनमा छ । यी दुवैले अरु बीमा कम्पनीहरुले नागरिबाट धारण गरेका जोखिमलाई फेरी बीमा गरेर लिने काम गर्छन् । भनाईको मतलब तपाईहरुले कुनै पनि बीमा कम्पनीमा बीमा गर्नु भयो भने त्यसको बीमा फेरी पूनर्बीमा कम्पनीमा हुन्छ ।
अब बुझ्नु होस् तपाईले नेपाल लाइफ इन्स्योरेन्समा बीमा गर्नु भयो वा सानिमा जिआईसी इन्स्योरेन्समा बीमा गर्नु भएको छ त्यसले केही फरक पार्दैन । त्यस्ता जुनसुकै कम्पनीमा बीमा गरेको भएता पनि तपाईले दाबी परेर नेपाल लाइफ वा मानौ सानिमा जिआईसी जानु भयो भने त्यस्तो बेलामा ती बीमा कम्पनीहरुले फेरी तपाईको दाबीलाई पूनर्बीमा कम्पनी समक्ष पठाउँछन । र, तपाईले पूनर्बीमा कम्पनीबाट पाएको पैसा बीमा कम्पनीमार्फत आफ्नो खातामा पाउँनु हुन्छ ।
यस्तो बेलामामा तपाईलाई किन बीमा कम्पनीमा जानु पार्यो त सिधै पूनर्बीमा कम्पनीमा पैसा राख्दा भई हाल्छ होला नि भन्ने पनि लाग्न सक्छ । तर, पूनर्बीमा कम्पनीले तपाईहरुले दिएको जस्तो खुद्रा किसिमको एक,दुई बीमाभन्दा पनि बीमा कम्पनीहरुले दिएका ठूला र धेरै अर्बौ रुपैयाँ बराबरका बीमा व्याकअपका लागि राख्ने गर्छ ।
हाल नेपालमा दुई वटा पूनर्बीमा कम्पनी संचालनमा रहे पनि बीमा कम्पनीहरुले आफ्ना जोखिमलाई नेपालमा मात्र नभई विश्वका अन्य विभिन्न बीमा कम्पनीमा व्यवसायलाई विभाजन गरेर पठाउँने गर्छन् । यस्तो गर्नाले एक त बीमा कम्पनीहरुले दाबी भुक्तानी दिने बेलामा एउटै कम्पनीबाट रकम माग्नु पर्ने बाध्यात्मक अवस्था आउँदैन । अर्को भनेको बीमा कम्पनीहरुले विभिन्न कम्पनीमा जोखिम दिँदा बजारमा रहेका गुणस्तरिय र राम्रा पूनर्बीमा कम्पनीसँग व्यवसाय गर्ने अवसर पाउँछन् ।
हाल नेपाली बीमा कम्पनीहरुले पनि विश्वमा नाम चलेका स्वीस री, म्यूनीक री,आईआरडीएआई जस्ता पूनर्बीमा कम्पनीहरुसँग आफ्नो जाखिम हस्तान्तरण गर्दै आएका छन् ।
नेपालमा रहेका पूनर्बीमा कम्पनीहरुले पनि सकेसम्म नेपालको जोखिम नेपालमा नै सल्टाउनु पर्ने र आफूहरुले सशक्त भूमिका निभाउँनुपर्ने स्विकार गरेर क्रियाशिलता देखाई रहेका छन् भने बीमा गरे पछि अनिवार्य रुपमा पूनर्बीमा गर्नु भएकाले बीमितहरुले ढुक्कसँग जुनकुनै बीमा कम्पनीमा सहजै बीमा गर्न सक्ने वातावरण सिर्जना भएको अवस्था छ ।