

नाइमा २०२५ मा फोर्थिङ ईभीको पहिलो मोडल सार्वजनिक




काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक सवारी ब्रान्ड ‘फोर्थिङ’लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यही २१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी ‘नाइमा २०२५’मा फोर्थिङको पहिलो मोडल सार्वजनिक गरेको हो ।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात गरेको जनाएको छ । यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिँदो आवश्यकता परिपूर्ति गर्ने कम्पनीको दाबी छ ।
यो एसयूभीमा ६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाटको मोटर जडान गरिएको छ । त्यसकारण पनि यस एसयूभीले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्ने बताइएको छ । यो सहरभित्रको यात्रादेखि लामो दूरीका लागि समेत उपयुक्त यो गाडी उपयुक्त विकल्प बन्न सक्ने कम्पनीको भनाइ छ । पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिने र भित्री डिजाइनमा पनि आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिइएको छ ।
देशको अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको लक्ष्मी ग्रुपले विगतका दशकहरूमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थितिलाई विस्तारगर्दै हुन्डाई, बीएमडब्लू, काई, एसएमएल ईसुजुजस्ता विश्वविख्यात ब्रान्डहरूमार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दै आएको छ । अब यसै यात्रामा फोर्थिङ पनि थपिन लागेको कम्पनीले जनाएको छ ।
सन् २०२४ को मे महिनामा लक्ष्मी ग्रुपले नेपालकै पहिलो फोर–ह्वीलर गाडी एसेम्ब्ली प्लान्ट-लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)– रामग्राम, परासी (नवलपरासी) मा सञ्चालनमा ल्याएको छ । हुन्डाई गाडीहरूका लागि बनाइएको यो अत्याधुनिक एसेम्ब्ली प्लान्टले नेपालको अटोमोबाइल औद्योगिकीकरणमा ऐतिहासिक फड्को मारेको छ । लक्ष्मी समूह यस्तो सुविधा सञ्चालन गर्ने पहिलो नेपाली समूह बनेको छ।
त्यसैगरी, ग्राहकको सहजता र ईभी पूर्वाधार सुदृढ पार्न लक्ष्मी समूहले ‘रिल्याक्स’ नामक ६३ भन्दा बढी रिचार्ज नेटवर्क र रिपेयर स्टेसनहरूको सञ्जाल देशभर फैलाएको छ । यसले नेपालमा इलेक्ट्रिक गाडी प्रयोगलाई थप सरल र भरपर्दो बनाएको छ ।