

नाडा अटो शो भदौ ३ गतेदेखि




काठमाडौं । नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपाल (नाडा) ले भदौ ३ देखि ८ गतेसम्म अटो शो आयोजना गर्ने भएको छ ।
नाडाले काठमाडौंको भृकुटीमण्डपमा गर्ने उक्त प्रदर्शनमा १२५ भन्दा बढी स्टल रहने नाडाका अध्यक्ष करण चौधरीले बताए । उनका अनुसार भृकुटीमण्डपमा १ लाख ६५ हजार स्क्वायर फिटभन्दा बढी स्थलमा प्रदर्शन रहनेछ ।
शोमा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) ले सहभागिता जनाउने छन् । १ लाखभन्दा बढीले शो अवलोकन गर्ने नाडाको अपेक्षा छ ।
मोरिस माइनर, फियाट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडीज बेन्ज, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोला, माज्दा फेमिलिया, टोयोटा एमआर–२ लगायतका सवारी साधनहरू पनि प्रदर्शनमा राखिनेछ । ‘मेड इन नेपाल पेभेलियन’को स्वदेशमै निर्माण भएका सवारी तथा पार्ट्स पनि प्रदर्शनीमा राखिने नाडाले जनाएको छ ।