

चीनले बनाउदै गरेको विश्वकै सबैभन्दा ठूलो बाँधले भारत तनावमा




एजेन्सी । चीनले एक यस्तो जलविद्युत् बाँधको निर्माण सुरु गरेको छ, जसले भारत र बंगलादेशमा गम्भीर चिन्ता उत्पन्न भएको छ ।
तिब्बती क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँधको निर्माणको आधारशिला राखिएको हो । स्थानीय सञ्चार माध्यमका अनुसार, शनिबार चिनियाँ प्रधानमन्त्री ली क्याङले यारलुङ सांगपो नदीमाथि बन्न लागेको उक्त परियोजनाको उद्घाटन समारोहमा अध्यक्षता गरेका थिए ।
यारलुङ सांगपो नदी तिब्बती पठारबाट बग्दै भारत र बंगलादेशसम्म पुग्छ । उक्त बाँधका कारण डाउनस्ट्रीम क्षेत्र—भारत र बंगलादेशमा करोडौं मानिसहरू, तिब्बती समुदाय र सम्पूर्ण वातावरणमाथि गम्भीर असर पर्ने भएकाले यसले आलोचना बटुलेको छ ।
सबैभन्दा ठूलो जलविद्युत परियोजना
चीनका अनुसार, मोटुओ हाइड्रोपावर स्टेशन नाम दिइएको यो परियोजना करिब १.२ ट्रिलियन युआन (अर्थात् १६७ अर्ब डलर वा करिब १.४४ लाख करोड रुपैयाँ) मा सम्पन्न हुने अनुमान गरिएको छ । बाँध निर्माणपधि यो चीनकै थ्री गॉर्जेस ड्यामलाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध बन्नेछ । यसको विद्युत् उत्पादन क्षमता थ्री गॉर्जेस ड्यामको भन्दा तीन गुणा बढी हुने अनुमान छ ।
चीनको १४औं पञ्चवर्षीय योजनामा पहिलोपटक यस परियोजनाको चर्चा भएको थियो । राष्ट्रपति सी जिनपिङले २०२१ मा तिब्बत भ्रमणका क्रममा यस्तो मेगा ड्याम निर्माण गर्ने घोषणा गरेका थिए ।रिपोर्टहरू अनुसार, परियोजनामा पाँच वटा कास्केड हाइड्रोपावर स्टेशन बनाइनेछन् । कास्केडको अर्थ हो—पानीलाई एकपछि अर्को चरणमा तल झार्दै निरन्तर रुपमा विद्युत उत्पादन गर्ने व्यवस्था ।
यस परियोजनाबाट स्थानीय जनतालाई बिजुली आपूर्ति गर्नुका साथै व्यावसायिक स्तरमा पनि ठूलो मात्रामा बिजुली उत्पादन गरिनेछ । चीनले कोइलामा निर्भरता घटाउँदै हरित ऊर्जामा रूपान्तरणको योजना बनाएको छ । चीनको लक्ष्य छ—सन् २०६० सम्ममा पूर्ण रूपमा कार्बन न्यूट्रल बन्ने । प्रधानमन्त्री ली क्याङले यसलाई ‘सदीको सबैभन्दा ठूलो परियोजना’ भनेका छन् । तर विज्ञहरू यस बाँधबाट यारलुङ सांगपो नदीको प्रवाह नियन्त्रण वा मोड्न सक्ने शक्ति चीनसँग हुने बताउँछन् । यो नदी तिब्बतबाट भारतको अरुणाचल प्रदेश, असम हुँदै बंगलादेशसम्म पुग्छ । भारतमा यसलाई सियाङ र ब्रह्मपुत्र भनिन्छ ।
अष्ट्रेलियास्थित थिङ्क ट्याङ्क ‘लोवी इन्स्टिच्युट’को सन् २०२० को रिपोर्टमा भनिएको थियो, “तिब्बती पठारमा बहने नदीनियन्त्रण चीनलाई भारतको अर्थतन्त्रमाथि प्रभाव पार्ने शक्ति दिन्छ ।”
भारत र बंगलादेशको चासो
भारतले यो मेगा बाँधका प्रभावबारे चिनियाँ अधिकारीहरूसँग गम्भीर चासो व्यक्त गरिसकेको छ । जनवरी २०२५ मा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए कि भारतले चीनसँग डाउनस्ट्रीम देशहरूका हित नबिग्रिऊन् भनी पारदर्शिता र परामर्श सुनिश्चित गर्न आग्रह गरेको छ । भारत आफैंले पनि सियाङ नदीमाथि हाइड्रोपावर बाँध निर्माणको योजना बनाइरहेको छ, जसको उद्देश्य चीनबाट आकस्मिक रूपमा पानी छोडिँदा हुने बाढीको जोखिमबाट बच्नु हो ।
चीनको विदेश मन्त्रालयले २०२० मा भारतको आपत्तिको जवाफ दिँदै भनेको थियो, “चीनलाई यस नदीमा बाँध निर्माण गर्ने वैधानिक अधिकार छ, र उसले डाउनस्ट्रीम देशहरूमा पर्ने प्रभावको पनि ख्याल राखेको छ ।”
बंगलादेशले पनि यस परियोजनाप्रति चासो व्यक्त गरेको छ । फेब्रुअरी महिनामा बंगलादेशी अधिकारीहरूले चीनलाई पत्र लेख्दै विस्तृत जानकारी मागेका थिए ।
यो बाँध भारतको अरुणाचल प्रदेशको सीमाका निकै नजिक, न्यिंगची जिल्लामा निर्माण हुँदैछ । यही कारण भारतमा धेरै नेताहरू खुलेर चासो व्यक्त गरिरहेका छन् । हालै पीटीआईसँगको अन्तरवार्तामा अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले यसलाई ‘वाटर बम’ को संज्ञा दिएका थिएका थिए ।
उनका अनुसार, बाँध बनेपछि सियाङ र ब्रह्मपुत्र नदीको प्रवाह धेरै हदसम्म सुक्न सक्छ । उनले भने, “यो हाम्रो जनजातिहरू र जीविकोपार्जनका लागि अस्तित्वको संकट हो। चीन यसलाई ‘वाटर बम’ जस्तो प्रयोग गर्न सक्छ ।” यदि बाँध बनेर चीनले अचानक पानी छोड्यो भने सियाङ क्षेत्र पूर्ण रूपमा तहसनहस हुनेछ । विशेषगरी आदि जनजाति र अन्य समुदायहरूको जमिन, सम्पत्ति र जनजीवनमा विनाशकारी असर पर्न सक्छ ।”
कांग्रेस पार्टीले पनि एक्स (ट्विटर) मा पोस्ट गर्दै भनेको छ कि न्यिंगचीमा बन्ने बाँध भारतका लागि खतरा हुन सक्छ । पार्टीले आशंका व्यक्त गरेको छ कि चीन ब्रह्मपुत्रको प्रवाहमा पूर्ण नियन्त्रण जमाउन सक्नेछ । तर असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाले भने अत्यधिक चिन्ताको खाँचो नरहेको बताएका छन् । उनका अनुसार, ब्रह्मपुत्रको ३०–३५ प्रतिशत प्रवाह मात्रै चीनमा पर्छ भने बाँकी ६५–७० प्रतिशत प्रवाह भारतमै हुन्छ । उनले आफ्नो एक्स पोस्टमा लेखेका छन्, “जब नदी भारत प्रवेश गर्छ, तब यसको फैलावट र प्रवाह झनै बढ्छ ।”
पर्यावरणीय विनाशको सम्भावना
पर्यावरणविद्हरूका अनुसार, यस परियोजनाले तिब्बती घाटीहरू जसमा जैव विविधता अत्यन्त समृद्ध छ, तिनीहरू डुबानमा पर्ने खतरा छ । त्यस्तै, यो क्षेत्र भूकम्पीय जोखिम क्षेत्रमा पर्छ, जसले गर्दा यति विशाल बाँध भविष्यमा विनाशकारी हुन सक्छ । चिनियाँ अधिकारीहरू तिब्बतको जलविद्युत क्षमता उपयोग गर्न लामो समयदेखि इच्छुक थिए । यो स्थान विश्वकै गहिरा र लामो घाटीहरूमध्ये एकमा पर्दछ, जहाँ यारलुङ सांगपो नदी नामचा बार्वा हिमाल नजिकै तीव्र ‘यू–टर्न’ लिन्छ । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार, यस परियोजनाबाट उत्पादन हुने बिजुलीको ठूलो हिस्सा तिब्बतबाहिर पठाइनेछ, यद्यपि स्थानीय आवश्यकताको ख्याल राखिनेछ ।
चीन लामो समयदेखि पश्चिमी ग्रामीण क्षेत्रहरू, विशेषतः तिब्बती भागमा जलविद्युत परियोजना बनाउने रणनीतिमा लागेको छ, जसबाट देशका पूर्वी महानगरहरूको विद्युत आवश्यकता पूरा गरिनेछ ।
चिनियाँ सरकार र सरकारी सञ्चार माध्यमहरू यी परियोजनालाई प्रदूषण घटाउने, स्वच्छ ऊर्जा दिन र ग्रामीण तिब्बती जनतालाई आर्थिक उन्नतिमा सहयोग गर्ने उपायका रूपमा देखाउँछन् । तर अधिकारकर्मीहरू भन्छन्, यी बाँधहरू तिब्बती जमिन र समुदायमाथिको नयाँ शोषण हुन् ।