

जारी भयाे निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि




काठमाडौँ । अर्थमन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथावित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले कार्यविधि बनाएको हो ।
कार्यविधिमा निवृत्तभरण खाताको स्थापना, खाता सक्रियता, नवीकरण प्रक्रिया, रकम भुक्तानी तथा अनियमितता भएका रकमको असुल उपरसम्बन्धी स्पष्ट प्रावधानहरू उल्लेख गरिएका छन्।
कार्यविधिअनुसार किताबखानाबाट जारी भएको अधिकारपत्रको आधारमा निवृत्तभरकले इच्छाएको बैङ्कमा निवृत्तभरण भुक्तानी खाता खोल्न सक्ने छन्। यसको लागि निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुसूची–१ को ढाँचामा बैङ्कलाई पत्राचार गर्नु पर्नेछ। बैङ्कले राष्ट्रिय परिचयपत्र र आवश्यक कागजातको आधारमा शून्य मौज्दातमा खाता खोल्नुपर्नेछ। यद्यपि बालबालिका, अशक्त, असहाय, नव्बे वर्ष नाघेका व्यक्तिहरू तथा भारतीय निवृत्तभरकका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरिएको छ। पारिवारिक निवृत्तभरकका लागि खाता खोल्दा निवृत्तभरकको पुरानो खाता बन्द गर्न लेखी पठाउनु पर्नेछ। यस्ता खाताबाट रकम झिक्न बाहेक अन्य कारोवार गर्न नपाइने व्यवस्था गरिएको छ।
खाता सक्रियता सम्बन्धमा निवृत्तभरकको खाता एक वर्षसम्म र पारिवारिक निवृत्तभरकको खाता छ महिनासम्म सक्रिय रहनेछ। खाता पुनः सुचारु गर्न निवृत्तभरक स्वयं उपस्थित भई अनुसूची–२ अनुसार निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि बैङ्कले अधिकारपत्र प्रमाणित गरी खाता पुनः सुचारु गर्नुपर्नेछ। बायोमेट्रिक्स हाजिरी प्रणाली प्रयोग गरेर खाता सुचारु गर्दा अधिकारपत्रको प्रमाणिकरण आवश्यक नपर्ने उल्लेख गरिएको छ।
यदि निवृत्तभरक विदेशमा रहेर स्वयम् उपस्थित हुन नसक्ने अवस्थामा छन् भने उनले विदेशस्थित नेपाली नियोगमा अनुसूची–३ अनुसार निवेदन दिनुपर्नेछ। नेपाली नियोगले निवृत्तभरक स्वयं उपस्थित भई निवेदन दिएको पुष्टि गर्दै निवृत्तभरण व्यवस्थापन कार्यालयमा सिफारिस पठाउनु पर्नेछ। त्यसपछि कार्यविधिमा तोकिएको अवधिसम्म खाता नवीकरण गरिनेछ।
भर्चुअल माध्यमबाट खाता नवीकरण गर्न सकिने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ। विद्युतीय प्रणाली मार्फत भर्चुअल उपस्थिति जनाई निवृत्तभरकले खाता पुनः सक्रिय गराउन सक्नेछन्। यस प्रक्रियामा निवृत्तभरकको आधिकारिकता पहिचान गरी बैङ्कले खाता सुचारु गर्नु पर्नेछ। यसरी सुचारु गरिएको खाताबापत लाग्ने सेवा शुल्क निवृत्तभरकले तिर्नु पर्नेछ। प्रविधिको प्रयोगबाट सेवा दिँदा लाग्ने शुल्क मन्त्रालयले तोक्नेछ।
रकम भुक्तानी सम्बन्धी प्रावधान अनुसार, निवृत्तभरकको रकम र कानुनबमोजिम थप हुने रकम निवृत्तभरण व्यवस्थापन कार्यालयले प्रत्येक महिनाको तेस्रो हप्तासम्ममा खातामा जम्मा गरिदिनुपर्नेछ। शैक्षिक र सन्तति वृत्तिका रकम संरक्षकको खातामा जम्मा गर्न सकिने व्यवस्था छ। बैंकले पाउने सेवा शुल्क पनि मन्त्रालयले निर्धारण गर्नेछ। साथै, हिसाब मिलान प्रयोजनका लागि सरकारी कोषमा रकम फिर्ता गर्न वा समायोजन गर्न बैंकलाई अनुसूची–४ अनुसार जानकारी दिइनेछ। निवृत्तभरण खाताको स्टेटमेन्ट बैंकले दिनु पर्नेछ वा प्रणालीमा हेर्न मिल्ने पहुँच उपलब्ध गराउनु पर्नेछ।
निवृत्तभरक वा पारिवारिक निवृत्तभरण पाउने व्यक्तिको मृत्यु भएमा, हकवालाले ३५ दिनभित्र निवृत्तभरण व्यवस्थापन कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनु पर्ने व्यवस्था गरिएको छ।
यदि निवृत्तभरकको खातामा पाउने भन्दा बढी रकम जम्मा भएको खण्डमा सो रकम तुरुन्तै असुल उपर गर्नुपर्ने प्रावधान राखिएको छ। यदि तत्काल असुल उपर हुन नसकेमा आगामी महिनाको भुक्तानीबाट क्रमशः कट्टा गरी असुल गरिनेछ। मृत्यु भइसकेको वा बाँकी रकम नभएको खण्डमा हकवालाबाट सरकारी बाँकीसरह असुल उपर गरिनेछ।