

अर्थ समितिले मन्त्रालयसँग नेप्से पुनर्संरचनाको प्रतिवेदन मगायो




काठमाडौं । अर्थ समितिले अर्थ मन्त्रालयसँग नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि प्रतिवेदन मगाएको छ । सोही समितिले अर्थ मन्त्रालयलाई पुनर्संरचनाको सम्बन्धमा हालसम्म नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले अर्थ मन्त्रालयसमक्ष पेश गरेका प्रतिवेदन, सिफारिस प्रस्ताव र अन्य कागजात लगायतका विवरण मगाएको हो।
त्यसरी नै नयाँ स्टक एक्सचेन्जको आवश्यकता सम्बन्धमा हालसम्म नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयसमक्ष पेश गरेका प्रतिवेदन, सिफारिस प्रस्ताव र अन्य कागजात माग गरेको छ । अर्थ मन्त्रालय वा मातहतका निकायबाट गठित कुनै आयोग, समिति, कार्यदलले पेश गरेका कुनै प्रतिवेदनमा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना र नयाँ स्टक एक्सचेन्जको आवश्यकता सम्बन्धमा सिफारिस गरेको भए सो को विवरण पनि उपलब्ध गराउन समितिको माग छ।
साथै, समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका विभिन्न निकायहरूलाई दिएका निर्देशनहरूको कार्यान्वयन भए–नभएको बारे सम्बन्धित निकायहरूबाट बुझ्ने र कार्यान्वयन नभएको भए कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी पनि गराएको हो ।