

नेपाल टेनिस संघद्वारा दिविस कप २०२५ छनौट प्रतियोगिता २ जुनदेखि सुरु हुने




ललितपुर, १५ जुलाई – नेपाल टेनिस संघले जुलाई १४ देखि मलेशियामा आयोजना हुन गइरहेको दिविस कप २०२५ (ग्रुप–४) प्रतियोगिताका लागि नेपाली टिम छनौटका उद्देश्यले २ जुन २०२५ (सोमबार) देखि छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
संघका अनुसार कुल ४ जना खेलाडी मलेशियामा हुने प्रतियोगिताका लागि छनोट गरिनेछ। तीमध्ये एक खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस महासंघ (ITF) वा एटीपी (ATP) रैंकिङको आधारमा र एक जनालाई राष्ट्रिय रैंकिङमा पहिलो स्थानमा रहेका खेलाडीको रूपमा प्रत्यक्ष संरक्षण दिइनेछ। बाँकी २ जना खेलाडीका लागि प्रतिस्पर्धात्मक छनौट प्रतियोगिता आयोजना गरिने छ।
यदि कुनै पनि खेलाडीले ITF वा ATP रैंक नपाएको खण्डमा भने, राष्ट्रिय रैंकको नम्बर १ खेलाडीलाई समावेश गरी बाँकी ३ स्थानका लागि छनौट प्रतियोगिता गरिनेछ।
संघले अद्यावधिक राष्ट्रिय सिडिङअनुसार शीर्ष ८ स्थानमा रहेका खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ। आवश्यक परेमा त्यस सूचीबाहिरका खेलाडीहरूलाई समेत प्रतिस्थापनको रूपमा समावेश गरिनेछ। साथै, नेपालबाहिर रहेका योग्य नेपाली खेलाडीहरूबाट अधिकतम ४ जनालाई आवेदनको आधारमा छनौटमा सहभागी गराइने बताइएको छ।
छनौट प्रतियोगिता सातदोबाटो टेनिस कम्प्लेक्स, ललितपुर मा बिहान ८:०० बजे साइन–इन पछि सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले साईन–इन अनिवार्य रूपमा गर्नुपर्नेछ।
संघले स्पष्ट पारेको छ कि ITF/ATP रैंक प्राप्त वा नेशनल नम्बर १ खेलाडीहरूले छनौट प्रतियोगिताको २ हप्ता अगाडि, अर्थात् २०२५ मे १९ भित्र संघमा औपचारिक निवेदन दिनुपर्नेछ। यसै मितिसम्मको अद्यावधिक सिडिङलाई छनौट आधार मानिने संघले जनाएको छ।
नेपाल टेनिस संघले यस प्रक्रिया मार्फत निष्पक्ष र प्रतिस्पर्धात्मक छनौट सुनिश्चित गर्दै नेपालको प्रतिनिधित्व गर्ने बलियो टोली चयन गर्ने विश्वास व्यक्त गरेको छ।