

अकस्मात अस्ताए यूनाईटेडअजोडका सीईओ रावल: प्रहरी बन्न एप्लाई गरे,जीवनभर बीमाको कमाण्ड सम्हाले




काठमाडौं । मृत्यु ध्रुव सत्य कुरा हो । तै पनि कसैको मृत्युको खबर सुन्दा अकस्मात मनमा यति धेरै चिसो नमिठो, डरलाग्दो र कठ्याग्रिदो अवस्था सिर्जना हुने गर्छ भने सोही मृत्युलाई तातोको रुपमा महशुस गर्ने हो भने पनि निकै रापिलो हुनेगर्छ । त्यस्तै नमिठो चिसो र तातो रापले नेपाली बीमा क्षेत्र आज स्तब्ध बनेको अवस्था छ । एकातिर बीमा क्षेत्रको नियमनकारी निकाय लगायत बीमा कम्पनीहरु मिलेर अन्तराष्ट्रिय कार्यक्रमको महोत्सव मनाई रहेका छन् भने अर्को तिर बीमा क्षेत्रका एक पुराना र अब्बल योद्धाले अन्तिम सास फेरेका छन् । कस्तो नमिठो संयोग ।
त्यसरी अकल्पनियक रुपमा हाल यूनाईटेडअजोड इन्स्योरेन्स कम्पनीको कमाण्ड सम्हालि रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण कुमार रावलले हिजो साँझ अन्तिम सास फेरे । उनले भौतिक जगतबाट निकै छिट्टो बिदा लिए । आफ्नो जीवनकालमा केही गर्नु पर्छ भन्दै विभिन्न कम्पनीहरुमा जागिरको लागि अन्तर्वाता दिन गएको सुनाएका रावलले बीमा क्षेत्रमा आफ्नो पाइला टक्क अड्एिको सुनाउँने । साथै, उमेरले ६० वर्ष नाघेका सीईओ रावल अनवरत रुपमा नेपाली बीमा क्षेत्रको उच्च पदमा कार्यरत रहे ।
सीईओ रावलको सम्झनामा एक झल्को
एसके रावल नेपाली बीमा बजारमा अपरिचित नाम होइन । उनले बीमा क्षेत्रमा काम गरेको निकै लामो अनुभव हाँसिल गरे। प्राप्त जानकारी अनुसार वि.स. २०४५ सालमा ओरियन्टल इन्स्योरेन्समा उनले आफ्नो व्यावसायीक जीवनको सुरुवात गरेका थिए ।
सुदूरपश्चिमको अछाममा रावलको जन्म वि.स. २०२१ सालमा भएको थियो । कामको शिलशिलामा आफ्ना बुवाआमा भारतमा रहेका कारण उनले आफ्नो जीवनको बाल्यकाल पनि भारतमा नै बितेको सुनाउँथे।
प्रहरी बन्ने रावलको सपनामा उमेरले दिएको थियो धोका
यूनाईटेडअजोड इन्स्योरेन्सका सीईओ रावलले आफ्नो अध्ययन भारतमा गरेका थिए । रावलले सो अध्ययन पश्चात आफ्नो देशमा नै रोजगारी गर्न रुचाए । देशमा प्रहरी बनेर जनताको सेवा गर्न उनलाई ठूलो रहर थियो। सोही अनुसार उनले आफ्नो प्रकृया अघि बढाउदा उमेर हदले बाधा गरेको पनि सुनाउँने गरेका थिए । तर प्रहरी बन्न उमेर बाधक बने पनि केही गरौ भन्ने उनको जोसमा कहिल्यै ठेस लागेन । तत्कालिन समयमा नेपालको वित्तीय क्षेत्रमा उनी जोडिन पुगे । त्यो पनि पत्रपत्रिकामा विज्ञापन हेरेको भरमा । एक पत्रिका यस्तो लक्कि साबित भईदियो कि उनले नेपाली बीमा क्षेत्रमा जागिर खुलेको सूचना देख्न पाए । उनले सोही सूचनालाई आधार बनाउँदा तत्कालिन समयमा त जागिर खाए खाए, आफ्नो जीवनभर बीमा क्षेत्रमा जोडिने मौका पनि पाए । दि राइजिङ नेपाल नाम गरेको पत्रिका आफ्नो लागि अविष्मरणीय रहेको उनले पटक-पटक सुनाउँने गर्थे ।
ओरियन्टलबाट सुरु भयो बीमाको यात्रा
सीईओ रावलले आफू वि.स. २०४५ सालमा ओरियन्टलमार्फत बीमा क्षेत्रको यात्रा आरम्भ गरेको सुनाउँथे । ओरियन्टल इन्स्योरेन्समा सहायक एसिस्टेन्ट पदबाट आफ्नो काम सुरु गरेका उनले त्यहाँ करिब एक दशक काम गरेका थिए ।
नेको इन्स्योरेन्समा २२ वर्ष
बीमा क्षेत्रमा परिचित हुँदै गएका रावलले ओरेन्टलपछि पनि बीमा क्षेत्र नै रोजे । उनले त्यस बेलामा नेको इन्स्योरेन्समा आफ्नो कामको सुरुवात गरेका थिए । रावलसँग नेको इन्स्योरेन्समा २२ वर्ष काम गर्ने अवसर मिल्यो । एसिस्टेन्ट पदमै नेको इन्स्योरेन्स छिरेका रावल (जेनेरल म्यानेजर) जिएम भएर निस्किएका थिए । सीईओ रावललाई जुनसुकै बेला सम्झिए पनि हालको सगरमाथालुम्बिनी (सलिको) का (सीईओ) चंकी क्षेत्री र सिद्धार्थप्रिमियरका (सीईओ) बिरेन्द्र बैद्यबारको नाम पनि जोड्नु सान्दर्भिक देखिन्छ । आफ्नो व्यावसायिक जीवनको सुरुवातसँगसँगै गर्नु र एउटै क्षेत्रमा लामो समय कार्यरत रहेको नाताले पनि सीईओ रावलले हमेसा दुई सीईओ बैद्यबार र क्षेत्रीको नाम बिर्सिएर पनि छुट्टाउँदैनथे । यद्यपी सीईओहरुमा पनि अग्रज रहेकाले उनलाई सीईओहरुको पनि दाई, श्रवण दाईको नामले धेरै पटक सम्बोधन हुने गरेको थियो ।
तत्कालिन सगरमाथा इन्स्योरेन्समा डीसीईओ
उनले सफलतापूर्वक तत्कालिन सगरमाथामा इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी सम्हालेका थिए । त्यस लगत्तै तत्कालिन प्रुडेन्सियल इन्स्योरेन्समा सीईओ बन्न सफल भएका रावल मर्जरपछि स्थापित यूनाईटेडअजोड इन्स्योरेन्स कम्पनीको सीईओ गत वर्ष मात्रै बनेका थिए।
यूनाईटेड इन्स्योरेन्समा नेपालको चर्चित घराना चौधरी समूह र अजोड इन्स्योरेन्समा अर्को ठूलो घराना भाटभटेनी समूहको लगानी रहेको छ । यसरी हेर्दा रावलले आफ्नो जीवनकालमा एउटा सामान्य एसिस्टेन्ट पदबाट बीमामा छिरेर नेपालका ठूला र नाम चलेका घरानाहरुका सहजै मन जित्न सफल भएका थिए । उनलाई अहिले यूनाईटेडअजोड इन्स्योरेन्सको मुख्य अभिभावक बराबरकै जिम्मेवारी दिइएको थियो । भनाईको मतलब रावलको असामयिक निधनले अहिले नेपाली बीमा क्षेत्र त शोकमग्न बनेको छनै, अझ भनौ मुख्यतय यूनाईटेडअजोड इन्स्योरेन्स अभिभावक बिहीन अवस्थामा पुगेको छ ।
घरका एक्ला छोरा थिए रावल
सीईओ रावल घरका एक्ला छोरा थिए भने उनको स्थायी ठेगाना सुदूरपश्चिमको अछाम जिल्लामा थियो । उनले आफू पछिल्लो समय कैलालीको टिकापूरमा बसोबास गर्दै आएको बताउने गरेका थिए ।
पिता बिहीन रावल नेपाली बीमा क्षेत्रमा विभिन्न अवसर र चुनौतिका बाबजुत बलियो खम्बाको रुपमा अडिग रहे । आफ्नो जीवनमा उनले पुर्याएका योगदानहरुको दुई चार अक्षरको चर्चाभन्दा पनि उनको काम प्रतिको लगाव, व्यावसायिक सफलता, लामो धैर्यता, केही गरौं भन्ने साहस आम यूवावर्गमा गतिलो प्रेरणा बन्ने पक्का छ ।
लेखकसँग चार वर्ष अघि लक्ष्मिपूजाको दिनमा टेलिफोन संवाद
यूनाईटेडअजोड इन्स्योरेन्सका सीईओ रावल चार वर्ष अघि फरक संस्थामा थिए साथमा लेखक पनि व्यावसायिक शिलशिलामा अरु कुनै कार्यालयमा आवद्ध भएको अवस्था थियो । तत्कालिन अवस्थामा आफू खासै खुल्न नरुचाउँने तथा धेरै हाईलाइटमार्फत अघि बढ्ने भन्दा पनि कामलाई प्राथमिकता दिने बताएका रावलले चार वर्ष अघि लक्ष्मिपूजाको दिन लेखकसँग प्रत्यक्ष रुपमा टेलिफोन संवाद गरेका थिए । आफ्नो जीवनका यी यावत विषयहरुमा उनी एकाएक लामो समयसम्म खुलेको अवस्था थियो ।
आफ्नो जीवनमा धेरै जना नागरिकहरुलाई स्वास्थ्य बीमाको अनेकौं योजनाहरु संचालन गर्दै सीईओ रावलले धेरै जनालाई बीमामा जोड्दै आएका थिए। हुन त दैवको नियती कसले जानेको छ र ? आज सीईओ रावल हामीसबै माझबाट बिदा भएका भए । त्यो पनि कहिल्यै नफर्किनेगरी ।
आशा छ उनले देखाएका सकारामत्क व्यावसायिक रणनीतिहरु नेपाली बीमा क्षेत्रले मनन गर्नेछ । आफ्नो योजनामा उनले उजागर गरेका विषयहरुमा यस क्षेत्रलाई सुधार गर्न तथा बीमितहरुलाई साच्चैको दाबी भुक्तानी दिलाउन सपथ खाएका सीईओहरुले बिचबाटोमै अकारण आफ्नो जीवन यात्रा नै समाप्त गर्नु पर्ने मृत्युवत अवस्था आउँछ भने पनि नेपाली बीमा क्षेत्रले उनले उठाएका कतिपय मागहरुलाई खोजी खोजी सम्बोधन गरोस् । हार्दिक श्रद्धाज्जली ।