

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित




काठमाडौं । नेपाली बीमा क्षेत्रमा कान्छो अध्यक्षको रुपमा हालसालै मात्रै उदायका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन् ।
उनलाई योग्यताको विषयमा सोधखोज गर्न भन्दै मन्त्री परिषदको सोमबारको बैठकले छानबिन समितिमार्फत निलम्बन गरेको अवस्था छ ।
उनै अध्यक्ष ओझा माथि बीमा ऐन २०७९ अनुसारको योग्यता अपुग हुने गरी झूठो प्रमाण पेश गरेर नियुक्ति खाएको भन्ने विषय चर्चामा छ । सोही विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजूरीलाई आधार बनाएर मन्त्री परिषदको सोमबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको बेलामा बीमा ऐनको दफा १२ को उपदफा ३ बमोजिम अध्यक्ष अथवा अन्य सदस्य समेत सरकारले छानबिन समिति गठन गरेसँगै सोही सोधखोज अवधिभरी स्वतः निलम्बन हुने व्यवस्था छ।
बीमा प्राधिकरणको अध्यक्षमा गत फागुन १२ गते नियुक्ती पाएका ओझा अध्यक्षको कुर्सीमा बस्नासाथ मुद्धा खेप्न बाध्य भए । बीमा क्षेत्रमा आएर सीईओहरुसँग वान बाई वान वार्ता गर्न रुचाएका उनले बीमा बजारमा के कस्तो परिदृश्य देखे त ? भन्ने विषयमा मुख बाउन नपाउँदै उनी माथि किर्ते मुद्धाको बज्रपात परेको छ ।
यस बिचमा छिमेकी मुलुक भारतमा समेत बीमा क्षेत्रमा ३ दशक अनुभव भएका व्यक्ती मात्रै बीमा नियमनकारी निकायको अध्यक्ष हुन पाउने विषयले नेपाली बीमा बजारमा समेत चर्चा जमाएको थियो ।