

रसुवागढी हाइड्रोमा बाढीले ठूलो क्षति पुर्याउदा विद्युत उत्पादन ठप्प




काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुराएको छ । हिजो असार २४ गते भोटेकोशी नदीमा आएको ठूलो बाढीले आयोजनामा क्षति भएपछि आयोजना बन्द भएको छ । बाढीका कारण आयोजनाको बाँधस्थल, आवासगृह, आवासगृहदेखि जलविद्युत केन्द्र जाने पहुँचमार्ग लगायतका संरचनाहरुमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
उक्त काबु बाहिरको परिस्थितिका कारण हालका लागि जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द हुनपुगेको कम्पनीले जनाएको छ । कम्पनीले नेप्से मार्फत यो जानकारी लगानीकर्तामा दिएको हो। सोहि जानकारी कम्पनीले धितोपत्र बोर्ड र सिडीएससीमा पनि पठाएको छ।
कम्पनीले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ र २ को सिमानामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट निर्माण सम्पन्न गरि २०८१ पुस १६ गतेदेखि व्यापारीक रुपमा विद्युत उत्पादन गरिरहेको थियो ।
