

बाढी-पहिरोका बीमाशुल्क उठाउन सबै कम्पनीको हानाथाप: भुक्तानी गर्ने अग्रस्थानमा शिखर इन्स्योरेन्स




काठमाडौं । पछिल्लो समय बाढी-पहिरोका कारण देशका विभिन्न महत्वपूर्ण संरचनाहरुमा ठूलो क्षती पुगेको जगजाहेर नै छ । नागरिकहरुले प्राकृतिक विपत्तीबाट ठूलै सास्ती व्यहोर्नु पर्ने पुरानो परम्परा कायमै रहेको बेलामा बीमा कम्पनीहरुले उनीहरुको आलो पिडामा थोहै भए पनि मल्हमपट्टी गर्न सुरु गरेका हुन् ।
एक त आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप बैंक, वित्तीय संस्थाहरुले आफूले सकेको केही रकम दान, दक्षिणा स्वरुप बाढेकै छन् भने ठीक यही बेलामा कतिपय बीमा कम्पनीहरुले आफ्नो दायित्व स्वरुप सिर्जना भएका रकम बीमितको खातामा पुर्याएका छन् । त्यो पनि समयमै । अझ भनौ उनीहरुले नागरिकहरुलाई सरकारले प्रदान गर्ने राहात भन्दा पनि छिटो बीमाको माध्यमबाट दाबी भुक्तानी दिन सुरु गरेको अवस्था छ ।
पछिल्लो समय देशमा ठूलो वर्षाका कारण पुगेको क्षतीमा पनि बीमा कम्पनीहरुले भुक्तानी दिन अग्रसरता देखाएका छन् । त्यसरी असोज दोस्रो साता परेको भारी वर्षाले पौने ९ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको र सो मध्ये १७ करोड २८ लाख रुपैयाँ बराबरको भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ।
शिखर इन्स्योरेन्सको विरासत कायमै
नेपाली बीमा क्षेत्रमा पुरानो र ठूलो विरासत बोकेको शिखर इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीको हकमा हरबखत बीमितहरुको विश्वास जित्दै आएको छ । सो कम्पनीले यसपालि पनि १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये ६ वटा बीमा कम्पनीले ९७ बीमा दाबी वापत १७ करोड २८ लाख रुपैयाँ दिएको बेलामा शिखर इन्स्योरेन्स एक्लैले ९९ प्रतिशत दाबी भुक्तानी गर्न सफल भएको छ । गत असोज ३० गतेसम्ममा १७ करोड २४ लाख रुपैयाँको दाबी भुक्तानी गर्न शिखर इन्स्योरेन्स कम्पनी सफल भएको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ।
सबैभन्दा धेरै भुक्तानी गर्न सफल भएको अवसरमा शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेलाई सोध्दा उनले बीमा दर्पण डटकमसँग भने,‘बीमा भनेको साथी हो । त्यसमा पनि बीमा भनेको विपत्तीको साथी हो । तपाईहरुले लेख्नुस्न बीमाले जहिले पनि अफ्ठयारोमा साथ दिने भएकाले यसलाई सबैभन्दा नजिकको साथी पनि भनिन्छ ।’ बीमाले दावी भुक्तानी दिँदा सो रकमको प्रभावकारिता अन्य रकमको तुलनामा निकै ठूलो रहने सीईओ पाण्डेले स्वीकार समेत गरेका छन् ।
सबैभन्दा धेरै दाबी परेको सिद्धार्थप्रिमियरको भुक्तानीमा सुस्तता
यता सबैभन्दा धेरै दाबी परेको र मर्जरपछि संकलित बीमाशुल्कलाई आधार बनाएर ठूलो र बलियो कम्पनीको रुपमा प्रचारबाजी गर्दै आएको सिद्धार्थप्रिमियरको भुक्तानी भने शून्य देखिएको छ । र, त्यस्तो दयनिय आँकडा नेपाल बीमा प्राधिकरणले आफ्नो वेभ साइटमा निर्धक्क सार्वजनिक गरेको अवस्था छ ।
भुक्तानी दिने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट, नेको इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल, सानिमा जिआईसी, प्रभु इन्स्योरेन्स रहेका छन् ।
भुक्तानी दिएका कम्पनीबाट अन्य कम्पनीहरुले सकारात्मक पाठ सिक्नु पर्ने र व्यवसाय खोसाखोसमा मात्र नभई आफ्नोे दायित्व पूरा गर्नेतर्फ पनि एक नम्बर बन्छु भनेर लाग्नु पर्ने देखिएको छ ।
बीमा प्राधिकरणले विभिन्न शिर्षकमा गरिएका भुक्तानी, प्रदेश, जिल्ला तथा बीमालेख अनुसारका दाबीलाई आधार बनाएर आजै आँकडा सार्वजनिक गरेको हो । यसबाट पनि दाबी भुक्तानीमा पछिल्लो स्थानमा रहेका कम्पनीहरुलाई अघि बढ्न थप प्रेरणा मिल्ने प्राधिकरणको बुझाई रहेको पाइन्छ ।